‘२०२० रोनाल्डोको वर्ष हुनेछ’

एजेन्सी, माघ २१
भोलि (बुधबार) बाट उमेरले ३५ वर्ष पुग्ने इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो समय शानदार लयमा फर्किएका छन् । बढ्दो उमेरबीच उनले टिमको जितमा सघाइ मात्रै रहेका छैनन्, गोल पनि प्रशस्तै गरिरहेका छन् । यो सिजन मात्रै उनले २३ गोल गरिसकेका छन् भने वर्ष २०२० सुरु भइकन मात्रै ११ गोल गरिसकेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

यसैक्रममा रोनाल्डोका सहकर्मी युभेन्टसका कप्तान जर्जियो चिलिनीले यो बताएका छन्, रोनाल्डोका लागि २०२० अर्को सफल र उपलब्धिमूलक वर्ष हुनेवाला छ । लामो समयदेखि चोटबाट गुज्रिएर हालै टोलीमा फर्किएका उनले ‘टुट्टो स्पोर्टस्’ सँगको कुराकानीक्रममा रोनाल्डोको तारिफ गर्दै रोनाल्डो यस वर्ष खास योजना र लक्ष्य लिएर अघि बढिरहेको र त्यसमा टिमले १०० प्रतिशत सघाउने बताए ।

‘आलोचकहरूले भनेझैं क्रिस्टियानोको समय सकिँदै छैन, अझै आउँदै छ । अहिले उनले कामबाटै यो कुरा देखाइरहेका छन् । उनी कडा मेहनत गरिरहेका छन् । र, टिमलाई ठूलो योगदान दिइरहेका छन्,’ चिलिनीले भनेका छन् ।

चिलिनीले २०२० मा रोनाल्डोले गत वर्षभन्दा राम्रो गर्नेमा आफू ढुक्क रहेको बताए । ‘आधा सिजन सकिँदा उनले जे–जति गरेका छन्, बाँकी सिजन उनी यही लयलाई निरन्तरता दिन तयार छन्,’ चिलिनीले भने, ‘मलाई विश्वास छ, २०२० लाई उनले आफ्नो वर्ष बनाउँदैछन् ।’

चिलिनीले युभेन्टसले सिरी ए र कोपा इटालिया सहज अवस्थाबाटै जित्ने दाबी गर्दै च्याम्पियन्स लिगलाई प्रमुख लक्ष्य बनाउने बताए । ‘हामी बाँकी रहेका दुई घरेलु टुर्नामेन्ट जित्छौं । किनभने, हामी अहिले त्यसका लागि सही बाटोमा छौं,’ कप्तानले भने, ‘यसपटक च्याम्पियन्स लिग हाम्रो प्रमुख लक्ष्य हो । त्यसका लागि हामी कुनै कसर बाँकी राख्दैनौं ।’

चिलिनीले आफू लामो समयपछि चोटबाट पर्किन पाउँदा खुसी लागेको बताए । ‘चोटका यी दिन कठिन थिए । म सक्चो चाँडो टोलीमा आउन चाहन्थें । बल्ल त्यो दिन आयो । अब म करिब–करिब ठीक छु । म मैदान फर्किने दिनको पर्खाइमा छु,’ उनले भने ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार २१:३८
Loading...