अपडेट : डेम्बेले अर्को सिजन मात्रै मैदान फर्किने

एजेन्सी, माघ २१
स्पेनिस बार्सिलोनाका फ्रेन्च विंगर उसामान डेम्बेलेले चोटका कारण बाँकी सिजन पूरै गुमाउने भएका छन् । आज क्लबले औपचारिक रूपमा प्रेश विज्ञप्ति जारी गर्दै डेम्बेले ‘हार्मस्ट्रिङ’ बाट पीडित भएको पुष्टि गरेको छ । डेम्बेले कबि दुई महिनाको चोटपछि एक साताअघि मात्रै प्रशिक्षणमा फर्किएका थिए । तर, पूर्ण रूपमा फिट हुन नपाउँदै उनले पुनः गम्भीर चोट बोकेका हुन् ।

यससँगै बार्सिलोनामा डेम्बेले ३ वर्षको बीचमा ११औं पटक चोटग्रस्त बनेका छन् । उनी बार्सिलोनामा सबैभन्दा बढी चोट बोक्ने खेलाडी हुन् । उनी चौथोपटक गम्भीर चोटबाट पीडित भएका हुन् ।

डेम्बेलेको दायाँ तीघ्राको मांशपेसी च्यातिएको छ । यस्तो केसमा अप्रेसन गरिन्छ । र, अप्रेसनपछि खेलाडीलाई पूर्ण रूपले रिकभर हुन अवस्था हेरी कम्तीमा तीन महिना वा सोभन्दा बढी लाग्छ । यसो हुँदा डेम्बेलेले यो सिजनका बाँकी सबै खेल गुमाएर अर्को सिजन मात्रै बार्सिलोनाको टोलीमा फर्किनेछन् ।

क्लबका अनुसार डेम्बेलेले सोमबार बिहान प्रशिक्षणक्रममा दायाँ खुट्टामा पीडा भएपछि क्याम्प छाडेका थिए । तर, चेकजाँचपछि उनको मांशपेसीको मासु फाटेको पुष्टि भएको हो । उनको अप्रेसन कहिले र कहाँ हुने भन्ने क्लबले केही घन्टापछि निर्णय लिने बताएको छ ।

डेम्बेलेले जारी सिजन बार्सिलोनामा ९ खेल खेल्दै १ गोल मात्रै गरेका छन् । उनले ला लिगामा १ गोल गरेका छन् । सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा बार्सिलोना आएका डेम्बेलेका लागि यो सिजन सबैभन्दा खराब सिजन हुने भएको छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार २०:४९
Loading...