‘मैदानमा स्किल देखाउँदा’ नेइमारले पहेंलो कार्ड पाएपछि …… (भिडियोसहित)

एजेन्सी, माघ २१
फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका स्टार फरवार्ड नेइमार ‘स्किल मास्टर’ खेलाडीमा पर्छन् । ड्रिब्लिङमा उनको खास कौशल छ । तर, उनले त्यही स्किल देखाएकै कारण पहेंलो कार्ड पाए भन्दा हाँसो उठ्न सक्छ । हालै यस्तै भएको छ । गत शनिबार राति पिएसजीले आफ्नो घरमा लिग वानअन्तर्गत मोन्टपेलिएरविरुद्ध खेल्दा यस्तो भएको हो ।

अहिले खेल मिडियाले सो खेलमा नेइमारले पाएको पहेंलो कार्डको विषयमा समाचार बनाइरहेका छन् । सो खेल रेफ्री जिरोम ब्रिसार्डले खेलाएका थिए । र, उनले नेइमारलाई ‘स्किल देखाएकै कारण’ पहेंलो कार्ड दिएपछि उनको आलोचना बढेको छ ।

पिएसजी आफ्नो घरमा १–० ले अघि रहेका बेला खेलको ३७औं मिनेटमा नेइमारले २ जना विपक्षी डिफेन्डरलाई छलाउँदै (ड्रिब्लिङ – रेन्वो फ्लिक) गर्दै बल अघि बढाएका थिए । त्यसक्रममा त्यहाँ कुनै फउल नै भएको थिएन । तर, रेफ्रीले नेइमारको सो स्किलमा असहमति जनाउँदै उनलाई हतार–हतार पहेंलो कार्ड देखाइदिए ।

तब नेइमार छक्क परेर बिनाकारण पहेंलो कार्ड पाएको भन्दै जंगिए । र, रेफ्रीसँग विवादमा उत्रिए । अन्य खेलाडी पनि रेफ्रीसँग जवाफ माग्न अघि बढे । तर, रेफ्रीले आफ्नो निर्णय बदलेनन् । र, नेइमारका नाममा एक कार्ड दर्ता भयो ।

त्यसपछि राम्रोसँग फ्रेन्च भाषा बोल्न नजान्ने नेइमारले सहकर्मी मार्को भेराट्टीमार्फत् रेफ्रीलाई भन्न लगाए– ‘म फुटबल खेल्छु । उसले मलाई पहेंलो कार्ड देखाउँछ । उसलाई भन कि, यो पहेंलो कार्ड हुन सक्दैन ।’

त्यसपछि पहिलो हाफको विश्राममा नेइमारले रेफ्रीसँग कुरा राखेका थिए । तर, रेफ्रीले उनलाई चित्तबुझ्दो कारण दिन नसकेपछि नेइमार रिसाए । तब खेल सकिएपछि उनले सामाजिक सन्जालमा सो कुरा लेखे । इन्स्टाग्राममा रेफ्रीको निर्णयप्रति झटारो हान्दै नेइमारले लेखेका छन्– ‘म फुटबल मात्रै खेल्छु ।’

पिएसजीले ५–० ले जितेको सो खेलमा नेइमारले गोल नगरे पनि असिस्ट गरेका थिए । अहिले सो खेलमा रेफ्रीले बिनाकारण नेइमारलाई कार्ड दिएको भन्दै सो विषयमा रेफ्रीमाथि स्पष्टीकरण सोध्नुपर्ने भन्दै फ्रेन्च मिडियाले खबर छापेका छन् ।

भिडियो हेरौं :

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १५:४६
Loading...