च्याम्पियन्स लिगअघि लयमा फर्किंदै नापोली : निकाल्यो प्रभावशाली जित

काठमाडौं, मंसिर २१
खराब अवस्थाबाट गुज्रिरहेको इटालियन क्लब नापोली पछिल्लो समय लयमा फर्किएको छ । उसले घरेलु लिगमा लगातार दोस्रो जित निकाल्नेक्रममा गत राति साम्पडोरियालाई अवे मैदानमा २–४ ले हराएको छ । यसअघि उसले आफ्ना घरमा लिग लिडर युभेन्टसलाई हराएको थियो ।

युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ का खेल सुरु हुन दुई साता बाँकी छँदा नापोली लयमा फर्किनुलाई महत्त्वसाथ हेरिएको छ । उसले अन्तिम १६ मा स्पेनिस क्लब बार्सिलोनासँग अन्तिम आठमा जान भिडन्त गर्नेछ ।

गत राति नपाोलीलाई जिताउनेक्रममा ४ जना फरक–फरक खेलाडीले गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमै अर्काड्युज मिलिकले पहिलो गोल गरे भने १६औं मिनेटमा इलिफ इल्मासले गोल गरेपछि नापोलीले ०–२ को अग्रता लियो ।

त्यसपछि खेलको २६औं मिनेटमा फाबियो क्वाग्लिएरिल्लाले गोल गरेपछि पहिलो हाफ १–२ सकियो । त्यसपछि खेलको ७२औं मिनेटमा घरेलु टोलीले बराबरी गोल हान्यो । सो गोल मानोलो गाब्बियाडिनीले पेनाल्टीमार्फत् गरेका थिए ।

तर, त्यसपछि साम्पडोरियाले पोस्ट जोगाउन सकेन । खेलको ८३औं मिनेटमा नापोलीका लागि डिएगो डेमेले गोल गरेर टिमलाई जिततर्फ अघि बढाएका थिए भने इन्जुरी समयको आठौं मिनेटमा मार्टिन्सले गोल गरेपछि नापोलीको २–४ को जित पक्का भएको थियो ।

अब यो जितसँगै नापोलीले अंक तालिकामा सुधार गरेको छ । उसले २२ खेलबाट ३० अंक जोडेर १०औं स्थानमा चढेको छ । पराजित साम्पडोरिया २० अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०८:३८
Loading...