रोनाल्डो सबैभन्दा चाँडो ५० गोल पूरा गर्ने खेलाडी

काठमाडौं, माघ २०
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबको इतिहासमा सबैभन्दा चाँडो ५० गोल पूरा गर्ने खेलाडी बनेका छन् । गत राति लिगको २२औं खेलमा आफ्नो घरमा फियोरेन्टिनालाई ३–० ले हराउनेक्रममा पेनाल्टीमार्फत् २ गोल गरेका रोनाल्डोले युभेन्टसको जर्सीमा ५० गोलको कोसेढुंगा पूरा गरे ।

रोनाल्डोले खेलको ४०औं मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल ८०औं मिनेटमा गरेका थिए । ती २ गोलले रोनाल्डोलाई नयाँ क्लबमा ५० गोल पूरा गर्न सघायो ।

यससँगै केही दिनमै उमेरले ३५ वर्ष पुग्न लागेका रोनाल्डो क्लब युभेन्टसको इतिहासमा सबैभन्दा चाँडो ५० गोल गर्ने खेलाडी बनेका हुन् । उनले मात्रै ७० खेलबाट ५० गोल गरेका छन् । यसअघि युभेन्टसका कुनै पनि खेलाडीले यति कम खेलबाट ५० गोल गरेका थिएनन् ।

रोनाल्डोले ५० गोल पूरा गर्न ७० खेल खेल्दा जम्मा १५ असिस्ट पनि गरेका छन् । समग्रमा उनी क्लबका लागि ७० खेलबाट ६५ गोलमा सोझै सहभागी छन् । उनले हालसम्म घरेलु लिगमा ४० गोल गरेका छन् भने च्याम्पियन्स लिगमा ८ गोल गर्दा कोपा इटालिया तथा सुपरकोपामा १–१ गोल गरेका छन् ।

पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका रोनाल्डोले यो सिजन लिगमा १९ गोल गरेका छन् । जबकि, गत सिजन उनले सिजनभरमा मात्रै २१ गोल गरेका थिए । उनी अब गत सिजनको गोल संख्या बराबरी गर्न २ गोलले टाढा छन् । यसपटक उनले सबैखाले खेलबाट २३ गोल गरेका छन् ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १३:३०
Loading...