कीर्तिमानी फाती : १७ वर्षकै उमेरमा नयाँ–नयाँ कीर्तिमान !

काठमाडौं, माघ २०
स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले ला लिगा फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । गत राति घरेलु मैदान क्याम्प नोउमा लेभान्टेविरुद्ध भएको खेलमा २ गोल गरेसँगै १७ वर्षीय फाती अब ला लिगाको इतिहासमा एकै खेलमा २ गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

गत राति बार्सिलानोले पाहुना टोली लेभान्टेलाई घरमा २–१ ले हराउँदा फातीले खेलको ३०औं र ३१औं मिनेटमा गरी २ मिनेटको बीचमा २ गोल गरेका थिए । उनका दुवै गोलमा कप्तान लिओनल मेस्सीले असिस्ट गरेका थिए ।

उक्त २ गोलसँगै फाती अब ला लिगको इतिहासमा २१औं शताब्दीका यस्ता एक मात्रै यस्ता खेलाडी बनेका छन्, जसले सबैभन्दा कम उमेरमा एकै खेलबाट २ गोल गरेका छन् । फातीले मात्रै १७ वर्ष ९४ दिनको उमेर यस्तो रेकर्ड बनाएका हुन् ।

फातीले यसअघि सन् २०१० मा रियल जारागोजाका जुनामी जिमेन्जले बनाएको रेकर्ड भंग गरेका हुन् । जिमेन्जले १७ वर्ष ११५ दिन उमेरमा सन् २०१० को सेप्टेम्बरमा एकै खेलमा २ गोल गरेका थिए । तर, अब बार्सिलोनाका फातीले सो रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाएका छन् ।

फातीले यसअघि सबैभन्दा कम उमेरमा ला लिगामा डेब्यु गर्ने बार्सिलोनाका खेलाडीको रेकर्ड बनाएका छन् भने ला लिगामा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् । त्यस्तै, उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड पनि बनाइसकेका छन् ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ११:४७
Loading...