बार्सिलोनाको जितमा मेस्सी र फाती चम्किए : घरमा लेभान्टेसँग लियो बदला

काठमाडौं, माघ २०
कप्तान लिओनल मेस्सी र युवा स्टार अन्सु फातीको उत्कृष्ट तालमेलमा बार्सिलोनाले ला लिगा फुटबलमा महत्त्वपूर्ण जित निकालेको छ । सोमबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको लिगको २२औं खेलमा बार्सिलोनाले भ्रमणकारी टोली लेभान्टेलाई २–१ ले हराउँदा मेस्सी र फाती नायक बने ।

बार्सिलोनाका लागि दुवै गोल १७ वर्षीय फातीले गरे भने उनका दुवै गोलमा मेस्सीले असिस्ट गरे । दुई मिनेटको बीचमा फातीले २ सुन्दर गोल गर्दा उनका दुवै गोलमा मेस्सीले सुन्दर असिस्ट गरेका हुन् ।

बार्सिलोनाका लागि खेलको ३०औं मिनेटमा फातीले पहिलो गोल गरे । मेस्सीको लामो सुन्दर पासमा उनले वान भर्सेस वानको अवस्थामा सुन्दर गोल गरेका थिए ।

पहिलो गोल गरेको एक मिनेटमै फातीले दोस्रो गोल गरे । मैदानको माथिल्लो भागमा मेस्सीले चलाखीपूर्वक दिएको पास सदुपयोग गर्दै फातीले हानेको सटले लेभान्टेका गोलकिपरलाई लाग्दै जाली चुमेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफमा पाहुना टोली लेभान्टेले इन्जुरी समयमा १ गोल फर्कायो । ९२औं मिनेटमा रुबेन रोचिनाले लामो दूरीबाट सुन्दर गोल गरेपछि बार्सिलोनाको जित २–१ मा खुम्चिएको थियो ।
यो जितसँगै बार्सिलोनाले लेभान्टेसँग उसको घरमा यो सिजन पहिलो लेगमा भोगेको ३–१ को हारको बदला आफ्नो घरमा लिन पनि सफल भएको छ । तर, मेस्सी र फातीको तालमेलबाहेक बार्सिलोनाले घरमा समग्रमा औसत मात्रै प्रदर्शन गरेको थियो । उसले कूल २३ प्रहार गरे पनि मात्रै ९ प्रहार अन टार्गेट हानेको थियो ।

यो खेलमा गरेको २ गोलसँगै फाती ला लिगामा अब सबैभन्दा कम उमेरमा एकै खेलमा २ गोल गर्ने कान्छा खेलाडी बनेका छन् । यसअघि उनले ला लिगामा सबैभन्दा कम उमेरमा गोल गर्नेमा रेकर्ड बनाइसकेका थि ।

अब यो जितपछि बार्सिलोना २२ खेलपछि ४६ अंक जोडेर लिगको दोस्रो स्थानमा छ । बार्सिलोना समान खेलपछि लिग लिडर रियल मड्रिडभन्दा ३ अंकले पछि छ । पराजित लेभान्टे २६ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०३:३७
Loading...