टोटनह्यामले पनि बाँकी राखेन म्यानचेस्टर सिटीलाई !

काठमाडौं, माघ २०
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले म्यानचेस्टर सिटीमाथि रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको लिगको २५औं खेलमा टोटनह्यामले १० खेलाडीमा सीमित पाहुना टोली सिटीलाई २–० ले स्तब्ध बनायो । यससँगै सिटीले जारी सिजन लिगमा छैटौं हार भोगेको छ ।

आफ्नो घरेलुु मैदानमा सिटीसँग दबाबमा खेलेको टोटनह्याम पहिलो हाफमा गोल खानबाट बचेको थिथो । ३९औं मिनेटमा सिटीले पेनाल्टी पाए पनि इकाए गुन्डोगानको पेनाल्टी टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले बचाएपछि सिटीलाई झट्का लागेको थियो । त्यसपछि सिटीका लागि दोस्रो हाफ खराब रह्यो । उसका डिफेन्डर ओलेक्सान्डर दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड खाँदै मैदान छाडेपछि खेल टोटनह्यामको पक्षमा गयो । जहाँ उसले २ गोल हान्यो ।

सिटी १० खेलाडीको झरेको ३ मिनेटमै टोटनह्यामका लागि मिडफिल्डर स्टेभेन बर्गविज्नले लुकास मोउराको पासमा उत्कृष्ट प्रहारमा पहिलो गोल गरेर टोटनह्यामलाई १–० को अग्रता दिलाएका थिए । मोउराले बक्समा दिएको पास उनले निकै आकर्षक ढंगले छातीले बल नियन्त्रण गरेर हानेको प्रहारले सोझै जाली चुमेको थियो ।

स्टेभेन टोटनह्यामका नयाँ खेलाडी हुन् । उनलाई क्लबले केही दिनअघि मात्रै डच क्लब पिएसभी इन्डोभिनबाट भित्र्याएको थियो । उनले क्लबका लागि डेब्यु खेलमै शानदार गोल गरेर आफ्नो डेब्यु सम्झनायोग्य बनाए ।

त्यसपछि खेलको ७१औं मिनेटमा टोटनह्यामका लागि दक्षिण कोरियन खेलाडी सन हेङ मिनले शानदार गोल गरेपछि खेल टोटनह्यामले २–० ले जित्यो । यस खेलमा टोटनह्यामले जम्मा ३ सट मात्रै हान्दा सबै सट टार्गेटमा राखेको थियो । उसले बल आफ्नो पक्षमा ३२ प्रतिशत मात्रै राखेको थियो ।

अब यो हारसँगै पेप ग्वार्डिओलाको टिम सिटी लिग लिडर लिभरपुलभन्दा स्पष्ट २२ अंकले पछि परेको छ । उसको खातामा ५१ अंक छ । विजयी टोटनह्याम ३७ अंक जोडेर लिगको पाँचौं स्थानमा उक्लिएको छ । टोटनह्याम अब चौथो स्थानको चेल्सीभन्दा ४ अंकले पछि छ ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०१:०१
Loading...