आर्सनलको लगातार चौथो बराबरी : १०औं स्थानमा झर्‍यो

काठमाडौं, माघ १९
नयाँ प्रशिक्षकको नेतृत्वमा रहेको इंग्लिस क्लब आर्सनल लगातार चौथो खेलमा बराबरीमा रोकिएको छ । प्रिमियर लिग फुटबलमा आइतबार राति भएको लिगको २५औं खेलमा आर्सनल बर्नलीसँग उसको घरमा ०–० मा रोकिएको हो ।

आर्सनलले पछिल्ला पाँच खेलमध्ये लगातार चार खेलमा बराबरीमा चित्त बुझाएको हो । बर्नलीसँग बराबरी गर्नुअघि आर्सनल चेल्सीसँग २–२, सेफिल्ड युनाइटेडसँग १–१, क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको थियो । उसले अन्तिमपटक जनवरी सुरुमा म्यानचेस्टर युनाइटेडलाई आफ्नो घरमा २–० ले हराएको थियो ।

आज बर्नलीको घरमा आर्सनलले कमजोर प्रदर्शन गरेको थियो । उसले खेलभरिमा जम्मा दुई प्रहार मात्रै टार्गेटमा राख्दा १ गोल पनि निकाल्न सकेन । र, अंक बाँड्न बाध्य भयो ।

यो बराबरीसँगै आर्सनल लिगको १०औं स्थानमा झरेको छ । उसको खातामा ३१ अंक छ । आज राति हुने अन्य खेलको नतिजापछि ऊ अझै तल गर्न सक्नेछ । बर्नली समान ३१ अंकपछि ११औं स्थानमा छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार २२:०४
Loading...