लाजियोको फराकिलो जितमा सिरोले हाने २ गोल

काठमाडौं, माघ १९
इटालियन सिरी ए फुटबलमा उपाधि होडमा रहेको लाजियोले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा लाजियोले आफ्नो घरेलु मैदानमा पाहुना टोली एसपिएललाई ५–१ ले हरायो । लाजियाको जितमा सिरो इम्मोबाइल र फिलिपे कियाकेडोले २–२ गोल गरे ।

घरमा लाजियोलाई जिताउन युरोपियन गोल्डेन बुटको दौडमा पहिलो नम्बरमा रहेका फरवार्ड सिरोले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि १६औं मिनेटमा फिलिपेले गोल गरे भने २९औं मिनेटमा सिरोले व्यक्तिगत दोस्रो गोल गरे ।

फेरि खलको ३८औं मिनेटमा फिलिपेले व्यक्तिगत दोस्रो गोल गर्दा लाजियोले पहिलो हाफमा ४–० को अग्रता बनायो । दोस्रो हाफमा पनि लाजियोले १ गोल हान्यो । खेलको ५८औं मिनेटमा बोबीले गोल गरेर लाजियोलाई ५–० ले अघि बढाए । तर, ६५औं मिनेटमा एसपिएलका लागि सिमोनी मिस्सीरोलीले गोल गरेपछि लाजियोको जित ५–१ मा झरेको थियो ।

अब यो जितसँगै लाजियोले २१ खेलबाट ४९ अंक जोडेको छ । ऊ इन्टर मिलानलाई पछि पार्दै दोस्रो स्थानमा चढेको छ । मिलानले आजै राति आफ्नो खेल खेल्ने हुँदा यदि सो खेल जिते मिलान पुनः दोस्रो स्थानमै चढ्नेछ । हाल लाजियो मिलानभन्दा १ अंकले अघि छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार २१:४४
Loading...