शानदार रोनाल्डो : आफ्नै रेकर्ड भंग, एकसाथ दुई कोसेढुंगा पूरा

काठमाडौं, माघ १९
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ क्लब युभेन्टसको जर्सीमा आफ्नै रेकर्ड भंग गर्दै एकसाथ दुई कोसेढुंगा पूरा गरेका छन् । आइतबार सिरी ए अन्तर्गत आफ्नो घरमा भएको खेलमा युभेन्टसले फियोरेन्टिनालाई ३–० ले हरायो ।

सो खेलमा २ गोल गरेसँग रोनाल्डोले नयाँ लिगमा एउटा आफ्नै रेकर्ड भंग गरे भने अन्य दुई महत्त्वपूर्ण कोसेढुंगा पनि पूरा गरे । फियोरेन्टिनाविरुद्ध रोनाल्डोले खेलको ४०औं र ८०औं मिनेटमा गरी दुवै गोल पेनाल्टीबाट गरेका थिए ।

आफ्नै रेकर्ड भंग !

केही दिनमै उमेरले ३५ वर्ष लाग्न लागेका रोनाल्डोले घरेलु लिगमा लगातार ९ खेलमा गोल गरेका छन् । र, उनी सिरी ए लिगमा सबैभन्दा धेरै खेलमा गोल गर्ने युभेन्टसका खेलाडी बनेका छन् । उनले आफ्नै रेकर्ड भंग गरेका हुन् । यसअघि यही रेकर्ड रोनाल्डोकै नाममा आठ खेलेको थियो ।

रोनाल्डोले दुई साताअघि मात्रै युभेन्टसका दुई लिजेन्ड खेलाडीलाई पछि पार्दै लगातार आठौं खेलमा गोल गरेर रेकर्ड बनाएका थिए । तर, अब उनले लगातार गोल गरेको संख्या ९ पुगेको छ । उनले पछिल्ला ९ लिग खेलबाट १४ गोल पूरा गरेका छन् । यसक्रममा रानाल्डोले एक ह्याट्रिकसहित तीन खेलमा २–२ खेल गरेका छन् भने पाँच खेलमा १–१ गोल गरेका छन् ।

युभेन्टसमा पूरा भयो अर्धशतक

सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले क्लबका लागि सबैखाले प्रतियोगिताबाट गरी ५० गोल पूरा गरेका छन् । दोस्रो सिजन बिताउनेक्रममा उनले ५० गोल पूरा गरेका हुन् । आइतबार फियोरेन्टिनाविरुद्ध २ पेनाल्टी गोलसँगै युभेन्टसको जर्सीमा उनको कूल गोल संख्या ५० पुगेको छ । रोनाल्डोले कूल ७० खेलबाट ५० गोल गरेका हुन् ।

सो क्रममा उनले १५ असिस्ट गरेका छन् । रोनाल्डो समग्रमा युभेन्टसमा ७० खेलबाट सोझै ६५ खेलमा सहभागी भएका छन्, जुन निकै शानदार तथ्यांक हो । रोनाल्डोले ५० गोलमध्ये ४० गोल घरेलु लिगमा गरेका छन् भने ८ गोल च्याम्पियन्स लिगमा गरेका छन् । त्यस्तै, कोपा इटालिया र सुपरकोपामा १–१ गोल गरेका छन् ।

वर्ष २०२० मा दोहोरो अंकमा गोल

नयाँ वर्ष २०२० मा रोनाल्डोको गोल संख्या पनि दोहोरो अंकमा पुगेको छ । उनले फियोरेन्टिनाविरुद्ध गरेको २ गोलसँगै २०२० लागिकन गरेको गोल संख्या ११ पुगेको छ ।

रोनाल्डोले यो सिजन घरेलु लिगमा मात्रै १९ गोल गरेका छन् । उनले सबैखाले प्रतियोगिताबाट २२ गोल गर्दै ३ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार २१:०७
Loading...