घरमा युभेन्टसको सहज जित : रोनाल्डोेले हाने २ गोल

काठमाडौं, माघ १९
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी २ गोल गरेपछि इटालियन क्लब युभेन्टसले सिरी ए लिग फुटबलमा महत्त्वपूर्ण जित निकालेको छ । आइतबार घरेलु मैदान एलिनाज रंगशालामा भएको खेलमा रोनाल्डोले पेनाल्टीमार्फत् २ गोल गर्दा पाहुना टोली फियोरेन्टिनालाई ३–० ले हरायो । आफ्नो घरमा युभेन्टसले पहिलो र दोस्रो हाफमा एक–एक पेनाल्टी पाएको थियो ।

आफ्नो घरमा पहिलो हाफमा केही दबाबमा देखिएको युभेन्टसले रोनाल्डोको पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो । खेलको ४०औं मिनेटमा उनले पेनाल्टीमार्फत् गोल गरेका थिए । बक्समा विपक्षी खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले युभेन्टसलाई पेनाल्टीको मौका दिएका थिए, जसमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरे ।

त्यसपछि खेलको ८०औं मिनेटमा युभेन्टसले दोस्रो पेनाल्टी पायो । बक्समा बेन्टाकुरलाई लडाएपछि रेफ्रीले भिएआरबाटै युभेन्टसलाई दोस्रो पेनाल्टी दिएका थिए । दोस्रो पेनाल्टीमा पनि रोनाल्डोले सहजै गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा माथिस डि लिग्टले सुन्दर हेडिङ गोल गरे । पाउलो डिबालाको सुन्दर असिस्टमा डि लिग्टले सो गोल गर्दा खेल युभेन्टसले ३–० ले जित्यो ।

आजको खेलमा रोनाल्डोले २ गोल गर्दा उनले आफ्नै रेकर्ड भंग गरेका छन् । उनी अब सिरी ए लिगमा सबैभन्दा धेरै खेलसम्म गोल गर्ने युभेन्टसका खेलाडी बनेका छन् । उनले लिगका पछिल्ला ९ खेलमा लगातार गोल गरेका छन् । उने ९ खेलबाट १४ गोल गरेका छन् । यसअघि उनी युभेन्टसकै दुई लिजेन्ड खेलाडीलाई पछि पार्दै आठ खेलमा लागतार गोल गर्ने रेकर्ड बनाएका थिए । तर, अब उनले आफ्नै रेकर्ड भंग गरेर लगातार गोल भएको खेल संख्या ९ बनाएका छन् ।

यो जितसँगै युभेन्टसले लिगमा २२ खेलबाट ५४ अंक जोडेको छ । उसले एक खेल कम खेलेको इन्टर मिलानलाई ६ अंकले पछि पारेको छ । पराजित फियोरेन्टिना २५ अंकसहित १४औं स्थानमा छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १९:०८
Loading...