‘बार्सिलोनालाई व्यंग्य हान्ने’ जिदानलाई सेटिनले फर्काए कडा जवाफ

काठमाडौं, माघ १९
केही समयअघि स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले मिडियासँग कुरा गर्दै यो सिजन बार्सिलोनालाई आफूहरूले कुनै उपाधि जित्न नदिने भन्दै व्यंग्य हानेका थिए । बार्सिलोनाले क्विके सेटिनलाई नयाँ प्रशिक्षकमा नियुक्त गर्नासाथ क्लबका अध्यक्ष जोसेप मारिया बार्टोेमेउले बार्सिलोना नयाँ प्रशिक्षकसँग ट्रिबेल उपाधि जित्न तयार रहेको बताएका थिए ।

सोही विषयमा पत्रकारले जिदानसँग प्रतिक्रिया लिँदा यो सिजनको स्पेनिस सुपर कप जितिसकेपछि जिदानले यो सिजन स्पेनका सबै उपाधि रियलले जित्ने बताउँदै भनेका थिए– ‘हामी यसटक ला लिगा र कोपा डेल रे कप दुवै जित्नेवाला छौं, बार्सिलोनाले के–के जित्छ, मलाई थाहा छैन ।’

आज राति ला लिगामा बार्सिलोनाले आफ्नो घरमा लेभान्टेसँग खेल्दैछ । सो खेलअघि पत्रकारले जिदानको भनाइ जोड्दै बार्सिलोनाका प्रशिक्षक सेटिनसँग जवाफ मागेपछि सेटिनले पनि जिदानलाई व्यंग्यत्मक जवाफ दिए । सेटिनले जिदानको भनाइप्रति इंगित गर्दै रियल मड्रिडले ला लिगा जितिनसकेको बताए । रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई हराइसकेपछिको अवस्थामा उनले भने–

‘उनले (जिदान) के भने, मैले गम्भीर रूपमा लिएको छैन । यो सामान्य कुरा नै हो । उनीहरूसँग अहिले ६ अंकको अग्रता छ । र, लिगमा लेभान्टेसँगको खेल नै हाम्रा लागि लिगको अन्तिम होइन । त्यहाँ अझै थुप्रै खेल बाँकी छन् ।’

सेटिनले अघि थपे, ‘यो साँचो हो कि– हामी पछिल्ला खेलमा सही अवस्थामा थिएनौं । तर, हामीले एक–दुई खेल नराम्रो खेल्दैमा हामी सकिँदैछौं भन्ने होइन । बार्सिलोना अझै थुप्रै उपाधि जित्न सक्षम छ ।’

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ११:५५
Loading...