प्रिमियर लिगमा आज टोटनह्याम र म्यानचेस्टर सिटीको भिडन्त हुँदै

काठमाडौं, माघ १९
इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ, जहाँ लिगको २५औं खेलमा टोटनह्याम र म्यानचेस्टर सिटी आमनेसामने हुँदैछन् । यस खेलका लागि टोटनह्यामले सिटीलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

हाल लिगमा सिटी ५१ अंकसहित दोस्रो स्थानमा छ, जुन लिग लिडर लिभरपुलभन्दा २२ अंकले पछि हो । टोटनह्याम ३४ अंकसहित आठौं स्थानमा रहेको छ ।

टोटनह्याम आज आफ्नो घरमा हुने यो खेल जितेर अंक तालिकामा अवस्था सुधार गर्ने दाउमा छ । लिगमा टप–४ मा स्थान सुरक्षित गर्न उसका लागि आजको खेलको ३ अंक ज्यादै महत्त्वपूर्ण हुनेछ । नयाँ प्रशिक्षक जोेसे मोउरिन्हाको नेतृत्वमा सन्तोषजनक प्रदर्शन गरिरहेको टोटनह्यामलाई यो सिजन टप–४ मा स्थान बनाउन पनि ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ ।

यता, सिटी भने हालको ताजा अवस्थामा लिभरपुलभन्दा २२ अंक्ले पछि परिसकेको छ । उपाधि होडबाट अनौपचारिक रूपमा आउट भइसकेको उसका लागि लिगमा हालको संघर्ष लिगको दोस्रो स्थानका लागि हो । हाल ऊ तेस्रो स्थानको लेस्टर सिटीभन्दा २ अंकले अघि छ ।

यसअघि सिटीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल २–२ को बराबरीमा सकिएको थियो । आज टोटनह्याम आफ्नो घरमा सिटीलाई हराएर अंक तालिकामा अवस्था सुधार्ने योजनामा छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ११:०७
Loading...