सिरी ए : आज युभेन्टस र फियोरेन्टिना भिड्दै, मिलानको खेल पनि आजै

काठमाडौं, माघ १९
इटालीको घरेलु लिग सिरी ए फुटबल प्रतियोगितामा आज केही रोमाञ्चक खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये २२औं खेलमा युभेन्टस र फियोरेन्टिनाको भिडन्त हुँदैछ । यो खेल युभेन्टसको घरेलु मैदानमा आज साँझ ५ः१५ बजेबाट सुरु हुनेछ ।

युभेन्टस हाल लिगमा २१ खेलपछि ५१ अंक जोडेर शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानको इन्टर मिलानभन्दा ३ अंकले अघि छ । युभेन्टस यसअघि अवे मैदानमा नापोलीसँग हारेपछि मिलानसँग अंक दूरी ६ बनाउने अवसरबाट चुकेको थियो ।

युभेन्टस हाल अंक तालिकामा २५ अंकसहित १४औं स्थानमा रहेको फियारेन्टिनालाई घरमा स्वागत गर्दा ३ अंकको खोजीमा हुनेछ । यदि आज युभेन्टस विजयी भए उसले एक खेल बढी खेलेको अवस्थामा मिलानलाई ६ अंकले पछि पार्नेछ ।

आज आफ्नो घरमा खेल्दा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो लगातार नवौं खेलमा गोलको खोजीमा हुनेछन् । यसअघि आठ खेलमा लगातार गोल गरेर उनले सिरी ए लिगमा युभेन्टसको जर्सीमा सबैभन्दा धेरै खेलसम्म गोल गर्ने रेकर्ड बनाइसकेका छन् । आजको खेलअघि रोनाल्डोलाई जनवरी महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ अवार्ड प्रदान गरिनेछ । तीन दिनअघि रोनाल्डो जनवरी महिनाका लागि सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

लिगमा आज अन्य केही रोचक खेलहरू पनि हुँदैछन् । जहाँ आजको दोस्रो खेलमा राति ७ः४५ बजेबाट लाजियो र एसपिएलको भिडन्त हुँदा ७ः४५ बजेबाट एसी मिलान र भेरोनाको खेल हुनेछ । सोही समयमा एट्लान्टा र जेनोआको खेल हुँदा राति १०ः४५ बजेबाट लिके र टोरिनोको खेल पनि हुनेछ । आजको अन्तिम खेलमा राति १ः३० बजेबाट उडिनेस र इन्टर मिलानको खेल हुँदैछ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ११:०४
Loading...