आज क्याम्प नोउमा ‘चमत्कार’ गर्ने लेभान्टेको दाउ : बार्सिलोनामाथि दबाब !

काठमाडौं, माघ १९
लिग लिडर रियल मड्रिडसँग अंक दूरी घटाउने दबाबसहित स्पेनिस क्लब बार्सिलोना आज ला लिगा फुटबलमा लेभान्टेसँग खेल्दैछ । लिगको २२औं खेल खेल्न बार्सिलोनाले लेभान्टेलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल लिगमा बार्सिलोना २१ खेलपछि ४३ अंक जोडेर दोस्रो स्थानमा छ । ताजा अवस्थामा बार्सिलोना रियलभन्दा ६ अंकले पछि परेको छ । रियलसँगको अंक दूरी घटाउन बार्सिलोनामाथि आजको खेल जित्नैपर्ने दबाब छ । हारे वा बराबरीमा रोकिए त्यो बार्सिलोनाका लागि उपाधि होडमा ठूलो धक्का हुनेछ ।

पछिल्ला केही खेलमा खराब प्रदर्शन गरेको बार्सिलोनाले दुई दिनअघि क्याम्प नोउमै भएको कोपा डेल रे फुटबलको अन्तिम १६ मा लेगानेसलाई ५–० को फराकिलो अन्तरले हराएको थियो । लगत्तै आफ्नै घरमा लिग खेल खेल्न लागेको बार्सिलोनामाथि आज लगातार जितको दबाब मात्रै हुनेछैन, ३ अंकको जित्नुपर्ने अर्को दबाब पनि हुनेछ ।

आजको खेलमा बार्सिलोना सबै पहिलो रोजाइका खेलाडी लिएर खेल्नेछ । कप्तान मेस्सीसहितका प्रमुख खेलाडी सबैले ठीकठाक प्रशिक्षण पूरा गरेका छन् । अघिल्लो खेलमा २ गोल र १ असिस्ट गरेका मेस्सी आजको खेलमा पनि आकर्षणमा हुनेछन् ।

यता, लेभान्टे भने आज बार्सिालेनाको घरमा उत्रिँदा बार्सिलोनामाथि चमत्कारिक जित निकाल्ने दाउमा छ । हाल २६ अंकसहित लिगको १३औं स्थानमा रहेको लेभान्टे आक्रामक खेल शैलीको टिम हो । आज क्याम्प नोउमा उसले बार्सिलोनालाई कडा टक्कर दिने पक्का छ ।

लेभान्टे त्यही टिम हो, जसले यसै सिजनको पहिलो लेगमा आफ्नो घरमा बार्सिलोनालाई ३–१ ले निराश बनाएको थियो । गत नोभेम्बर २ तारिखमा भएको सो खेलमा लेभान्टेले आफ्नो घरमा बार्सिलोनामाथि सनसनीपूर्ण जित निकालेको थियो ।

लेभान्टे आज बार्सिलोनाको घरमा उत्रिँदा उस्तै अप्रत्यासित जितको खोजीमा हुनेछ । यता, बार्सिलोना भने आज क्याम्प नाउमा पहिलो लेगमा भोगेको २–१ को हारको बदला लिन दाउमा छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १०:४४
Loading...