९ खेलाडीमा सीमित मोन्टपेलियरको पोस्टमा पिएसजीको ५ गोल

काठमाडौं, माघ १८
फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पिएसजीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको लिगको २२औं खेलमा पिएसजीले ९ खेलाडीमा समेटिएको पाहुना टोली मोन्टपेलियरलाई ५–० को फराकिलो अन्तरले हरायो ।

आफ्नो घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले ४ गोल आफूले हान्यो भने १ गोल उपहारमा पायो । पिएसजीका लागि खेलको आठौं मिनेटम पाब्लो सराबियाले पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलको ४१औं मिनेटमा एन्जल डि मारियाले सराबियाको पासमा गोल गरे भने ४४औं मिनेटमा पिएसजीले उपहार गोल पाएपछि पहिलो हाफमा ३–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफ सुरु भएपछि खेलको ५७औं मिनेटमा केलियन एमबाप्पेले नेइमारको पासमा गोल गरे । लगत्तै ६५औं मिनेटमा लेभिन कुर्जावालले गोल गरेपछि खेल पिएसजीले ५–० ले जित्यो । खेलको अन्तिम समयमा इडिसन काभानीको गोल रद्द भएको थियो ।

पाहुना टोली मोन्टपेलिएर खेलको १७औं मिनेटमै १० खेलाडीमा झरेको थियो । उसका खेलाडी डिमिट्री बेर्नाउड सोझै रातो कार्ड खाएर मैदान छाडेका थिए । त्यसपछि खेलको ८८औं मिनेटमा अर्का खेलाडी जोरिस चोटार्ड दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली ९ खेलाडीमा झरेको थियो ।

अब यो जितसँगै पिएसजीले २२ खेलबाट कूल ५५ अंक जोडेको छ । पराजित मोन्टपेलिएर ३३ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ००:१९
Loading...