हल्यान्डको जादु उस्तै : तेस्रो खेलमा २ गोल, डर्टमुन्डको फराकिलो जित

काठमाडौं, माघ १८
नयाँ युवा फरवार्ड अर्लिङ हल्यान्डले आफ्नो चमत्कारिक प्रदर्शन कायमै राख्दा बोरुसिया डर्टमुन्डले जर्मन लिग बुन्डेसलिगामा शानदार जित निकालेको छ । शनिबार भएको खेलमा डर्टमुन्डले आफ्नो घरमा युनियन बर्लिनलाई ५–० ले हरायो ।

घरेलु मैदानमा डर्टमुन्डलाई प्रभावशाली जित दिलाउनेक्रममा नर्वेजियन खेलाडी हल्यान्डले २ गोल हाने । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । पहिलो खेलमै ह्याट्रिक गरेका उनले त्यसपछिका दुई खेलमा लगातार २–२ गोल गर्दै आफ्नो खातामा ७ गोल बनाइसकेका छन् । ताजा अवस्थामा उनी युरोपियन टप–५ लिगका सबैभन्दा कम खेलबाट सबैभन्दा बढी गाल गर्ने खेलाडी हुन् ।

डर्टमुन्डले पाहुना टोली बर्लिनविरुद्ध खेलको १३औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो । त्यसपछि १८औं मिनेटमा हल्यान्डले गोल गरेपछि पहिलो हाफमा डर्टमुन्ड २–० ले अघि रह्यो ।

त्यसपछि खेलको ६८औं मिनेटमा डर्टमुन्डका लागि मार्को रेउसले पेनाल्टीमार्फत् गोल गरे भने ७०औं मिनेटमा एक्सेल विस्टेलले गोल गरे । त्यसपछि खेलको ७६औं मिनेटमा हल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल डर्टमुन्डले ५–० ले जितयो ।

अब यो जितसँगै डर्टमुन्डले २० खेलबाट ३९ अंक जोडेर लिगको तेस्रो स्थानमा चढेको छ । पराजित बर्लिन २३ अंकसहित १२औं स्थानमा छ ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार २३:३३
Loading...