बुन्डेसलिगामा बार्यन म्युनिखको सहज जित

काठमाडौं, माघ १८
जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको लिगको २०औं खेलमा बार्यनले मेन्जमाथि १–३ को जित निकाल्यो । बार्यनलाई अवे मैदानमा जिताउन ३ जना खेलाडीले गोल गरे ।

बार्यनले खेलको आठौं मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि खेलको १४औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बार्यनले ०–२ को अग्रता बनायो ।

त्यसपछि खेलको २६औं मिनेटमा बार्यनका लागि थियागो अलकान्टाराले गोल गरेर टिमको अग्रता बढाए । तर, पहिलो हाफको ४५औं मिनेटमा जेरमिहा जस्टले गोल गरेर खेल १–३ बनाए । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि बार्यनले १–३ ले खेल जित्यो ।

यो जितसँगै बार्यन लिगको शीर्ष स्थानमा चढेको छ । बार्यनको खातामा २० खेलबाट ४२ अंक छ । तर, आज शनिबार राति नै दोस्रो स्थानको लेइपजिगले आफ्नो २०औं खेल खेल्ने हुँदा यदि सो खेल जिते बार्यन पुनः दोस्रोमै झर्नेछ । तर, लेइपजिग हारे वा बराबरीमा रोकिए शीर्ष स्थानमा बार्यन नै रहनेछ ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार २३:१०
Loading...