रियलले जित्यो मड्रिड डर्बी : बार्सिलोनालाई ६ अंकले पछि छाड्यो

काठमाडौं, माघ १८
स्पेनिस ला लिगा फुटलबमा सिजनको दोस्रो मड्रिड डर्बी रियल मड्रिडले जितेको छ । रियल मड्रिड र एथ्लेटिको मड्रिडबीच शनिबार राति भएको सिजनको दोस्रो खेलमा रियलले पाहुना टोली एथ्लेटिकोमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो ।

यो जितसँगै रियलले शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ । उसले दोस्रो स्थानको बार्सिलोनालाई ६ अंकले पछि छाडेको हो । तर, बार्सिलोनाले भोलि (आइतबार) आफ्नो खेल खेल्ने हुँदा यदि सो खेल जिते अंक दूरी पुनः ३ मै झर्नेछ ।

रियलको घरेलु मैदानमा भएको डर्बीमा पहिलो हाफमा रियल आफ्नै घरमा दबाबमा परेको थियो । पहिलो हाफमा उसले गोलका अवसर बनाउन सकेन भने मात्रै एक प्रहार टार्गेटमा हानेको थियो । एथ्लेटिकोले पहिलो हाफमा पटक–पटक गोलका अवसर बनाए पनि गोल निकाल्न भने सकेन ।

तर, दोस्रो हाफमा घरेलु टोली रियलले गोल हान्यो । पहिलो हाफको सुरुआतमै भिनिसियस जुनियर र लुकास भासक्जेज मैदान छिरेपछि रियलले खेलमा आक्रमण बढाएको थियो । सोहीक्रममा भिनिसियस र फोर्लान् मेन्डीको उत्कृष्ट तालमेलमा क्रस पासमा करिम बेन्जेमाले चिप गर्दै गोल गरेपछि रियलले घरमा १–० को अग्रता बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल रियलले जित्यो ।

यो जितपछि रियलको खातामा २२ खेलबाट ४९ अंक भएको छ । पराजित एथ्लेटिको ३६ अंकसहित पाँचौं स्थानमा छ । रियलले एथ्लेटिकोमाथि लगातार दोस्रो जित निकालेको हो । यसअघि साउदी अरेबियामा रियलले एथ्लेटिकोलाई नै हराएर सुपर कपको उपाधि जितेको थियो ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार २२:३६
Loading...