रोनाल्डोको इन्स्टाग्राममा ५० मिलियनभन्दा धेरै ‘फेक फलोअर्स’ रहेको खुलासा !

एजेन्सी, माघ १८
तीन दिनअघि मात्रै इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सामाजिक सन्जाल इन्स्टाग्राममा कीर्तिमानी २०० मिलियन फलोअर्स पुगे । २०० मिलियन फलोअर्स नाघेपछि रोनाल्डो इन्स्टाग्रामको इतिहासमै सर्वाधिक २०० मिलियन फलोअर्स कमाउने सेलिब्रेटी बने ।

तर, एक अनुसन्धानले रोनाल्डोको २०० मिलियन संख्याको फ्यान फलोइङमा ठूलो संख्या ५० मिलियनभन्दा बढी फलोअर्स भने ‘फेक’ रहेको खुलासा गरेको छ । चर्चित इंग्लिस पत्रिका ‘द सन’ सनमा प्रकाशित समाचारअनुसार रोनाल्डोलाई इन्स्टाग्राममा पछ्याउनेमध्ये ५० मिलियनभन्दा बढी नक्कली प्रयोगकर्ता रहेका छन् ।

रोनाल्डो इस्टाग्राम मात्रै नभएर फेसबुक र ट्वीटरमा समेत गरी समग्रमा (इन्स्टाग्राम, ट्वीटर, फेसबक)मा गरी ४०० मिलियन फलोअर्स भएका एक्ला सेलिब्रेटी हुन् । उनलाई विश्वमै सर्वाधिक ‘मिडिया पावर’ भएका सेलिब्रेटी मानिन्छ ।

वर्ष २०१९ मा रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक पैसा कमाउने खेलाडी पनि बनेका थिए । उनले क्लबले वर्षभरि दिने तलबभन्दा बढी रकम इन्स्टाग्रामको पोस्टबाटै कमाउँछन् । २०१९ मा उनले कूल ३८.२ मिलियन पाउन्ड कमाइ गरेका थिए ।

‘द सन’का अनुसार रोनाल्डोलाई इन्स्टाग्राममा पछ्याउने कूल २०० मिलियन फलोअर्समध्ये ७२.८ प्रतिशत मात्रै सक्कली रहेको बताइएको छ । ‘हाईप अडिटर्स’ ले गरेको अनुसन्धानबाट रोनाल्डोलाई पछ्याउनेमध्ये १८.७ प्रतिशत पूरै ‘फेक अकाउन्ट’ वाला प्रयोगकर्ता छन् ।

त्यसबाहेक २.१ प्रतिशत यस्ता फलोअर्स छन्, जसले रोनाल्डोको पोस्ट नै देख्दैनन् । र, त्यस्ता अकाउन्ट खुल्दा पनि खुल्दैनन् । त्यसैगरी, ६.४ प्रतिशत भने ‘आम फलोअर्स’ रहेका छन् । आम फलोअर्स भनेका रोनाल्डोलाई नचिनी वा नजानी फलो मात्रै गर्ने व्यक्ति हुन् । त्यस्तै, उनलाई पछ्याउनेमध्ये २८ प्रतिशत महिलाको संख्या रहेको छ ।

सो अनुसन्धानले यस्तो पनि पत्ता लगाएको छ कि– रोनाल्डोलाई फलो गर्नेमध्ये कूल ४९ प्रतिशत मात्र अकाउन्टवाला मात्रै फुटबलसम्बन्धी चासो राख्ने व्यक्ति छन् । उनलाई इन्स्टाग्राममा फलो गर्नेमध्ये सर्वाधिक बढी संख्या भारतीयको छ । त्यसपछि पोर्चुगल, बेलायत, इटाली र स्पेनका प्रयोगकर्ताको संख्या ठूलो छ । रोनाल्डोलाई आफ्नै देशका नागरिकभन्दा बढी भारतीले फलो गरेका छन् ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार १७:४१
Loading...