‘मड्रिड डर्बी’ अघि जिदानको यस्तो बोली

एजेन्सी, माघ १८
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति यो सिजनको दोस्रो मड्रिड डर्बी भिडन्त हुँदैछ । यो खेलका लागि रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

सो खेलअघि रियलका प्रशिक्षक जिनेदिन जिदानले खेलबारे धरणा रोखका छन् । पत्रकार सम्मेलनमा बोल्दै जिदानले एथ्लेटिकोसँगको खेल विशेष हुने बताएका छन् । ‘यो खेल हाम्रा लागि विशेष हुनेछ । उनीहरूलाई यो खेल जति महत्त्वपूर्ण छ, त्योभन्दा बढी हामीलाई महत्त्वपूर्ण छ,’ जिादनले भने ।

जिदानले आफूहरूले आफ्ना फ्यानहरू घरेलु मैदानमा सधैं चाहने बताए । ‘हामी हाम्रा फ्यान र उनीहरूको समर्थन यस रंगशालामा सधैं चाहन्छौं । आशा छ, भोलि फ्यानले रंगशालालाई विशेष बनाउनेछन्,’ जिदानले थपे ।

जिदानले आफूहरू एथ्लेटिको मड्रिडलाई हराएर लिगमा अग्रता बढाउन तयार रहेको बताए । ‘यदि हामीले यो खेल जित्यौं भने तत्काललाई ६ अंकको अग्रता बनाउँछौं, हामीले यो खेल किन नजित्ने ?,’ जिदानले भने, ‘हामी उत्कृष्ट प्रदर्शन दिन तयार छौं । र, सहज अवस्थाबाट नतिजा निकालेर ३ अंक जोड्नेछौं ।’

जिदानले आफ्ना प्रमुख खेलाडी इडेन हाजार्ड १०० प्रतिशत फिट नभएकाले उनलाई टोलीमा नराखेको बताए । ‘इडेन १०० प्रतिशत छैनन्, म मेरा खेलाडीमाथि कुनै जोखिम मोल्न चाहँदिनँ,’ जिदानले भने ।

जिदानले केही प्रमुख खेलाडीबिनै पनि आफ्नो टोली खेल जित्न सक्षम रहेको बताए । ‘खेल जित्न मसँग एकसे एक खेलाडी छन्,’ जिदानले भने, ‘यस खेलमा मिडफिल्डले महत्त्वपूर्ण काम गर्नेछ,’ जिदानले थपे ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार १३:०६
Loading...