ब्रुनो भन्छन्– ‘रोनाल्डोकै कारण म युनाइटेडको फ्यान भएको थिएँ’

एजेन्सी, माघ १७
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका नयाँ खेलाडी ब्रुनो फर्नान्डेजले आफ्नो देशका सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । अघिल्लो दिन अफिसियल रूपमा पोर्चुगिज क्लब स्पोर्टिङबाट युनाइटेडमा अनुबन्ध भएपछि ब्रुनोले रोनाल्डोकै कारण आफूले युनाइटेडलाई धेरै पहिलादेखि नै माया गर्न थालेको बताए ।

ब्रुनोलाई युनाइटेडले ५५ मिलियन युरोमा भित्र्याएको हो । २५ वर्षका मिडफिल्डर ब्रुनो पोर्चुगलको टोलीमा रोनाल्डोका सहकर्मी हुन् । युनाइटेडको जर्सीमा सार्वजनिक भएपछि उनले युनाइटेड आफ्नो सपनाको क्लब रहेको बताउँदै २००३ बाटै आफूले युनाइटेडलाई माया गरेको बताए ।

रोनाल्डो पनि सन् २००३ मा स्पोर्टिङबाट युनाइटेडमा पुगेका थिए । पछि उनले स्पेनिस रियल मड्रिड जान २००९ मा युनाइटेड छाडेका थिए ।

‘युनाइटेड मेरो सपनाको क्लब हो, यहाँ आउन पाउँदा म निकै खुसी छु,’ सार्वजनिक हुनेक्रममा ब्रुनोले भने, ‘समर्थकहरूको आत्मीय स्वागतले म निकै उत्साहित छु ।’

ब्रुनाले आफूले युनाइटेडलाई माया गर्नुमा रोनाल्डो कारण रहेको बताए । ‘युनाइटेडप्रति मेरो माया त्यत्तिबेलादेखि थियो, जतिबेलादेखि रोनाल्डोलाई मैले युनाइटेडको जर्सीमा हेर्न थालें । त्यत्तिबेला म भर्खर फुटलबमा लागेको थिएँ । र, म युनाइटेडको ठूलो फ्यान बनें ।’

ब्रुनोले ओल्ड ट्राफोर्डमा आफूले शतप्रतिश्त दिन प्रयास गर्ने बताए । ‘ म यहाँ थुप्रै कुरा लिएर आएको छु । यो क्लबका लागि म मेरो सबैथोक दिन तयार छु,’ ब्रुनोले भने ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १३:३६
Loading...