बार्सिलोनाले वास्ता नगरेपछि डर्टमुन्ड छाडेर अल्कासेर भिल्लारियल पुगे

एजेन्सी, माघ १७
जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार खेलाडी पाको अल्कासेर पुनः स्पेन फर्किएका छन् । २०१८ मा बार्सिलोनाबाट डर्टमुन्ड पुगेका उनी दुई वर्षपछि पुनः स्पेन फर्किएका हुन् । तर, यसपटक उनी ला लिगाकै क्लब भिल्लारियलमा अनुबन्ध भएका छन् ।

डर्टमुन्डले अल्कासेरलाई मात्रै २३ मिलियन युरो मूल्यमा भिल्लारियललाई बेचेको हो । उमेरले हाल २६ वर्ष पुगेका उनले जर्मन क्लबका लागि कूल ४६ खेलबाट २६ गोल गरेका छन् ।

हालै डर्टमुन्डले अस्ट्रियन क्लब रेड बुलबाट अर्लिङ हल्यान्डलाई भित्र्याएपछि अल्कासेरले क्लबमा मौका नपाउँदा उनले क्लब छाड्ने फैसला गरेका हुन् । अल्कासेरले भिल्लारियलसँग साढे ५ वर्षका लागि सम्झौता गरेको बताइएको छ ।

२३ मिलियन युरो मूल्यसँगै अल्कासेर भिल्लारियलका सबैभन्दा महँगा खेलाडी बनेका छन् । यसअघि जेरार्ड मोरिनोलाई क्लबले २० मिलियन युरोमा भित्र्याएको थियो ।

भिल्लारियलमा अब अल्कासेरले क्लब छाडेर भ्यालेन्सिया पुगेका रोड्रिगो मोरेनाको स्थान लिनेछन् । उनले आइतबार ला लिगामा ओसासुनाविरुद्ध हुने खेलबाट डेब्यु गर्ने तयारी छ ।

अल्कासेर पुनः पूर्वक्लब बार्सिलोना फर्किन चाहेको भए पनि क्लबले वास्ता नगरेपछि उनले भिल्लारियल जाने निर्णय लिएको बताइन्छ । बार्सिलोना हाल टोलीमा लुइस स्वारेजको स्थान लिन सक्ने नयाँ फरवार्ड खोजी गरिरहेको छ ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १३:२९
Loading...