घरमा शानदार जित निकाल्दै बार्सिलोना कोपाको क्वार्टरफाइनलमा : चम्किए मेस्सी

काठमाडौं, माघ १७
पछिल्ला खेलमा कमजोर प्रदर्शनका कारण चर्को आलोचना खेप्दै आएको स्पेनिस क्लब बार्सिलोना शानदार जित निकाल्दै स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको अन्तिम १६ को खेलमा बार्सिलोनाले पाहुना टोली लेगानेसलाई ५–० ले हरायो । बार्सिलोनालाई शानदार जिताउन कप्तान मेस्सीले २ गोल गर्दै १ गोलमा असिस्ट गरे ।

आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा बार्सिलोनालाई जिताउन ४ जना खेलाडीले गोल गरे । तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध पहिलो रोजाइको सेट लिएर उत्रिएको बार्सिलोनाले खेलको सुरुआतबाटै पकड जमाएर खेलेको थियो । सोक्रममा खेल सुरु भएको चौथो मिनेटमै एन्टोनी ग्रीजम्यानले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले नेल्सन सेमेडोको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको २७औं मिनेटमा डिफेन्डर क्लेमेट लेङलेटले हेडिङमार्फत् गोल गरेर अग्रता दोब्बर बनाए । उनले कप्तान मेस्सीले हानेको कर्नर बलमा सुन्दर हेडिङ गोल गरेका थिए । सो गोलपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफमा बार्सिलोनाले ३ गोल थप्यो । जहाँ खेलको ५९औं मिनेटमा कप्तान मेस्सीले लामो पासमा लेगानेसका डिफेन्डरलाई बिट गरेर सहजै गोल गरेपछि खेलमा बार्सिलोनाले ३–० को अग्रता लियो ।

त्यसपछि ग्रीजम्यानको स्थानमा ७२औं मिनेटमा मैदान छिरेका मिडफिल्डर अर्थुरले ७७औं मिनेटमा लेगानेसका गोलकिपरबाट रिबाउन्ड भएर आएको बलमा गोल गरे । फेरि खेलको ८९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बार्सिलोनाले ५–० ले जित्यो ।

बार्सिलोना यसअघि ला लिगाअन्तर्गत अवे मैदानमा भ्यालेन्सियासँग २–० ले हारेको थियो । त्यसअघि कोपाकै अन्तिम ३२ मा तेस्रो डिभिजनको टिम इबिजालाई अवे मैदानमा संघर्षपूर्ण अवस्थाबाट १–२ ले हराएको थियो ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०१:३५
Loading...