कोपा डेल रे अन्तिम १६ : बार्सिलोना आज लेगानेससँग भिड्दै, समात्ला त लय ?

काठमाडौं, माघ १६
स्पेनिस कोपा डेल रे फुटबलमा आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन् । यी दुई खेल सकिएपछि अन्तिम आठको समीकरण पूरा हुनेछ । आज हुने पहिलो खेलमा बार्सिलोना र लेगानेसको भिडन्त हुँदैछ ।

यो खेल खेल्न बार्सिलोनाले लेगानेसलाई आफ्नो घरेलु मैदान क्याम्प नोउमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक ११ः४५ बजेबाट सुरु हुनेछ ।

पछिल्ला तीन खेलमा कमजोर प्रदर्शन गरेको बार्सिलोना आज आफ्नो घरेलु मैदानमा उत्रिँदा सहज जितको खोजीमा मात्रै हुनेछैन, यसअघिका खेलबाट खेपेको आलोचनाको जवाफसमेत फर्काउने दाउमा छ । अक्सर अवे मैदानमा कमजोर देखिँदै आएको बार्सिलोना आज घरेलु मैदानमा पुरानै लय कायम राख्ने प्रयासमा हुनेछ ।

यसअघिको खेलमा ला लिगामा भ्यालेन्सिायसँग अवे मैदानमा २–० को हार र त्यसअघि कोपाकै अन्तिम ३२ मा तेस्रो डिभिजनको टिम इबिजासँग २–१ को संघर्षपूर्ण जितका कारण बार्सिलोनाको प्रदर्शनको स्तरमा प्रश्न उठिरहेको छ । बार्सिलोना आजको खेल जितेर भ्यालेन्सियासँगको नमिठो हारबाट जितको बाटोमा फर्किन चाहन्छ ।

पछिल्लो समय टिम खराब अवस्थामा रहेकाले प्रशिक्षक क्विके सेटिनले आज क्याम्प नोउमा आफ्नो पहिलो रोजाइका खेलाडी खेलाउने तयारी गरेका छन् । लगातार कमजोर नतिजा आइरहँदा उनले घरमा हुने यस खेलमा कुनै समझौता गर्नेछैनन् । अन्तिम आठमा जान एक मात्रै खेल हुने भएकाले यो खेलमा दुवै टिम उत्तिकै दबाबमा हुनेछन् ।

त्यसमा पनि बार्सिलोना उपाधि दाबेदार टिम भएको र आफ्नै घरमा खेल्ने भएकाले आज ऊमाथि झनै चर्को दबाब हुनेछ । यसअघि ला लिगामा नोभेम्बर २३ मा लेगानेसको घरमा भएको खेल बार्सिलोनाले १–२ ले जितेको थियो ।

लेगानेस आज क्याम्प नोउमा घरमा उत्रिँदा खराब लयमा हिँडिरहेको बार्सिलोनासँग सो हारको बदला लिन मात्रै चाहँदैन, उसलाई उपाधि होडबाटै बाहिर पठाउने दाउमा छ । आक्रामक खेल शैलीको लेगानेसले आज क्याम्प नोउमा बार्सिलोनालाई कडा टक्कर दिने पक्का छ ।

आजै राति हुने अर्को खेलमा राति १ः४५ बजेबाट मिरान्डेज र सेभिल्ला भिड्दैछन् । यो खेल मिरान्डेजको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १०:२७
Loading...