इन्स्टाग्राममा रेकर्ड : रोनाल्डो बने विश्वकै सबैभन्दा प्रख्यात सेलिब्रेटी !

एजेन्सी, माघ १५
इटालियन युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको रेकर्ड फुटबलमा मात्रै छैन । विश्वमै सर्वाधिक फ्यान फलोइङ हुनेमा पनि रोनाल्डोको रेकर्ड बनेको छ । हाल ३४ वर्ष पुगेर ३५ टेक्न लागेका रोनाल्डो अब विश्वकै सबैभन्दा बढी फलोअर्स भएका सेलिब्रेटी बनेका छन् ।

सामाजिक सन्जाल इन्स्टाग्राममा २०० मिलियन फ्यान फलोइङ भएका रोनाल्डो अब विश्वकै पहिलो सेलिब्रेटी बनेका छन् । अर्थात्, इन्स्टाग्रामको २०० मिलियन फ्यान फलोइङ कमाउने रोनाल्डो पहिलो सेलिब्रेटी बनेका हुन् ।

ताजा अवस्थामा रोनाल्डोलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या २०० मिलियन नाघेको छ । रोनाल्डोलाई ‘पब्लिक मिडिया बेस’मा सबैभन्दा शक्तिशाली सेलिब्रेटी मानिन्छ । उनलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या जति छ, उनको आम्दानी पनि उति नै आकर्षक छ ।

वर्ष २०१९ मा रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक कमाउने सेलिब्रेटी बनेका थिए । उनको इस्न्स्टाग्राम कमाइ उनले क्लबबाट पाउने वर्षभरिको तलबभन्दा पनि बढी हुन्छ ।

यता, रोनाल्डो सबैखाले सामाजिक सन्जाल (इन्स्टाग्राम, फेसबुक, ट्वीटर) मा गरी ४०० मिलियन फलोअर्स हुने पनि विश्वकै एक मात्रै सेलिब्रेटीमा पर्छन् । उलनाई सबैभन्दा बढी फलो गर्नेको संख्या इन्स्टाग्राममा छ । वर्ष २०१९ मा रोनाल्डोले इन्स्टाग्रामबाट ३८.२ मिलियन पाउन्ड कमाइ गरेका थिए, जुन सबैभन्दा बढी हो ।

यसैबीच, रोनाल्डोले इन्स्टाग्राममा आफूलाई फलो गर्नेको संख्या २०० मिलियन पुगेको अवसरमा खुसी व्यक्त गर्दै फ्यानहरूलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार २०:५८
Loading...