रोनाल्डो र मेस्सी एकै ठाउँमा !

एजेन्सी, माघ १५
स्पेनिस क्लब बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोबीच लामो समयदेखि चर्को प्रतिस्पर्धा छ । पोर्चुगिज फरवार्ड रियल मड्रिडमा छँदा मेस्सीसँग सोझो प्रतिस्पर्धा थियो । तर, रोनाल्डो दुई वर्षअघि रियल छाडेर युभेन्टस सरेकाले सोझो प्रतिस्पर्धा सकिए पनि कुनै न कुनै रूपमा उनीहरूबीच अझै पनि प्रतिस्र्पा छँदैछ ।

युरोपियन टप–५ लिगमा यी दुई खेलाडीले गरेको कूल गोल संख्याले पनि यो देखाउँछ । ठीक यतिबेला रोनाल्डो र मेस्सी एकै विन्दुमा आइपुगेका छन्– जहाँ दुवै खेलाडीले क्लब फुटबल दौरान युरोपियन लिगमा गरेको कूल गोल संख्या समान ४३३ पुगेको छ ।

दुई दिनअघि सिरी ए लिगमा रोनाल्डोले नापोलीविरुद्ध गोल गरेपछि उनले मेस्सीको सर्वाधिक लिग गोल संख्यासँग बराबरी गरेका हुन् । त्यसअघि केही दिन मेस्सी रोनाल्डोभन्दा पछि परेका थिए । तर, ताजा अवस्थामा रोनाल्डो र मेस्सीले दुवैले युरोपियन टप–५ लिगमा गरेको कूल गोल संख्या बराबरी भएको हो ।

१६ वर्षदेखि लगातार ला लगामा खेल्दै आएका मेस्सीले हालसम्म ला लिगामा ४३३ गोल गरेका छन् भने रोनाल्डोले विभिन्न लिगबाट खेल्नेक्रममा समान ४३३ गोल नै गरेका छन् । यो अवस्थामा रोनाल्डो र मेस्सीमा कसले पहिलो ४५० र ५०० लिग गोल पूरा गर्छ भन्नेमा धेरैको चासो छ ।

कूल गोल संख्या समान ४३३ भए पनि खेल भने मेस्सीले रोनाल्डोको भन्दा कम खेल खेलेका छन् । ४३३ गोल गर्न रोनाल्डोलाई ५३७ खेल खेल्नुपर्दा मेस्सीलाई ४३३ नै गोल गर्न ४६८ खेल मात्रै खेल्नुपर्यो, जुन रोनाल्डोको भन्दा ६९ खेल कमी हो ।

हेरौं तथ्यांकमा

रोनाल्डोको कूल गोल संख्या – ४३३

कूल खेल संख्या – ५३७

मेस्सी कूल गोल संख्या – ४३३

कूल खेल संख्या – ४६८

जारी सिजनको कुरा गर्दा रोनाल्डो मेस्सीभन्दा अगाडि छन् । रोनाल्डोले यो सिजन सिरी ए लिगमा कूल १७ गोल गर्दा मेस्सीले १४ गोल मात्रै गरेका छन् ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १९:३९
Loading...