‘टिमको कमजोरी पत्ता लगाउन’ बार्सिलोनाका खेलाडी भिडियो हेर्न व्यस्त !

एजेन्सी, माघ १५
स्पेनिस क्लब बार्सिलोनाका स्टार मिडफिल्डर फ्रेन्की डे जोङले टिमको प्रदर्शनमा पछिल्लो समय देखिएका कमजोरी र समस्या पत्ता लगाउन खेलाडीले एकै ठाउँ बसेर थुप्रै भिडियोहरू हेरिरहेको बताएका छन् । स्पेनिस मिडियासँग कुरा गर्दै उनले पछिल्ला तीन खेलमा आफूहरूले खराब प्रदर्शन गरेको स्वीकार्दै टिम कमजोरी सुधारेर अघि बढ्न तयार रहेको बताए ।

डे जोङले भ्यालेन्सियासँग राम्रो खेल खेल्न नसकेको पनि स्वीकारे । ‘भ्यालेन्सियासँगको खेलपछि हामीमा ठूलो निराशा आयो । तर, अगाडि बढ्न हामीले नयाँ ढंगले सोच्नुपर्छ । हामी थप मेहनत गरिरहेका छौं । हामीसँग नयाँ प्रशिक्षक भएर पनि केही वेमेल छ । तर, हामीले प्रशिक्षणमा दिनहुँ राम्रो गर्दै गइरहेका छौं । हामी अझै सुधार गर्नेछौं र मैदानमा देखाउनेछौं,’ डे जोङले भने ।

‘भ्यालेन्सियाविरुद्ध खेल्नु सधैं कठिन हुन्छ । किनभने, उनीहरू च्याम्पियन्स लिग खेल्ने टोली हुन् । मेस्टाल्लामा हामीले खराब खेल खेल्यौं । अहिले हामी टिमको कमजोरी थाहा पाउन पछिल्ला खेलका थुप्रै भिडियोहरू एकै ठाउँ बसेर हेरिरहेका छौं, सुधार गर्न के गर्नुपर्छ भनेर हामी विकल्प खोजिरहेका छौं । आगामी खेलमा हामी राम्रो गर्नेछौं,’ डे जोङले थपे ।

डे जोङले भ्यालेन्सियाविरुद्ध टिमले लुइस स्वारेजलाई मिस गरेको पनि बताए । ‘स्वारेज विश्वकै एक उत्कृष्ट फरवार्ड हुन् । टिममा उनको अभाव खड्किन्छ । तर, हामीसँग टिममा अरू पनि प्रतिाभावान् खेलाडी छन् ।’

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १८:०३
Loading...