कोपा डेल रे अन्तिम १६ : लेगानेसविरुद्ध मेस्सी खेल्लान् ?

काठमाडौं, माघ १५
गत शनिबार ला लिगामा अवे मैदानमा भ्यालेन्सियासँग २–० को नमिठो हार । त्यसअघि कोपा डेल रे फुटबलको अन्तिम ३२ मा तेस्रो डिभिजनको टिम इबिजासँग संघर्षपूर्ण जित । त्यसअघि घरमै ग्रानाडासँग १–० को कठिन जित । यी तीन खेलको नतिजाले बार्सिलोनामा यतिबेला खतराको घन्टी बजिरहेको छ ।

यस्तो अवस्थाबीच बार्सिलोनाले कोपाको अन्तिम १६ मा भोलि (बिहीबार) ला लिगा टोली लेगानेसँग आफ्नो घरमा खेल्दैछ । सो खेलमा प्रशिक्षक क्विके सेटिनले कप्तान लिओनल मेस्सीसहितका प्रमुख खेलाडी उतार्छन् वा दोस्रो टोली ? यो धेरैका लागि चासोको विषय छ ।

स्पेनिस पत्रिका ‘एएस’मा प्रकाशित रिपोर्टअनुसार क्याम्प नोउमा हुने अन्तिम १६ को निर्णायक खेलमा प्रशिक्षक सेटिन कुनै सम्झौता गर्ने पक्षमा छैनन् । र, उनले लेगानेसविरुद्ध मेस्सीसहितका पहिलो रोजाइको बलियो सेट उतार्ने तयारी गरेका छन् । पछिल्ला तीन खेलका नतिजाबाट तर्सिएका नयाँ प्रशिक्षक सेटिन कोपाको अन्तिम १६ बाटै आउट हुन सक्ने खतरा टार्न सो खेलमा प्रमुख खेलाडी उतार्ने तयारीमा छन् ।

यसअघि कोपाको अन्तिम ३२ मा अवे मैदानमा इबिजाविरुद्ध खेल्दा मेस्सीलाई टोलीमै राखिएको थिएन । गत सिजन कोपाको फाइनल भ्यालेन्सियासँग २–१ ले हार्नु र यसपटक सोही टिमसँग लिगमा नमिठो हारपछि बार्सिलोना टोली अहिले सबै टिमसँग सशंकित छ । उनीहरूको कमजोर प्रदर्शन कायमै रहँदा प्रशिक्षकदेखि लिएर खेलाडीसमेत निकै चिन्तित छन् ।

विगत वर्षमा कप्तान मेस्सी ठूला टोलीसँगका खेलबाहेक कोपाका सुरुआती खेलमा सहभागी हुँदैन थिए । तर, यसपटक टिम कमजोर अवस्थामा रहेकाले क्याम्प नोउमा लेगानेसविरुद्ध हुने खेलमा प्रशिक्षकले मेस्सीसहितका प्रमुख खेलाडी खेलाउन दबाब बढेको छ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १३:३७
Loading...