‘मेस्सीको युगमा रोनाल्डोले पाँच बालोन डि‘ओर जित्नु अचम्म’

एजेन्सी, माघ १५
विगतमा स्पेनिस क्लब रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग सहकर्मी भएर खेलेका लिजेन्ड खेलाडी गुटीले रोनाल्डोभन्दा बार्सिलोनाका लिओनल मेस्सी उत्कृष्ट खेलाडी रहेको बताएका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीको युगमा रोनाल्डोले पाँच बालोन डि‘ओर जित्नुलाई पनि ‘आश्चार्यजनक’ भनेका छन् ।

गुटीले रोनाल्डो र मेस्सीको तुलना गर्दै मेस्सीलाई प्राकृतिक क्षमतावान् खेलाडी भनेका छन् भने रोनाल्डोलाई मेहनत र लगावले स्वनिर्मित खेलाडी भनेका छन् । रियलमा गुटीले सन् १९९५ देखि २०१० सम्म खेल्दा एक सिजन रोनाल्डोसँगै खेका थिएका थिए । रोनाल्डो सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल पुगेका थिए ।

तर, गुटीले आफ्ना पूर्वसहकर्मी रोनाल्डोलाई छाडेर मेस्सीलाई उत्कृष्ट खेलाडीका रूपमा लिएका छन् । गुटीले भनेका छन्, ‘म त्यस्तो खेलाडीलाई मन पराउँछु, जसले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्छ । र, उनी मेस्सी मात्र हुन् । जब उनी मैदान छिर्छन्, केही न केही नयाँ गरेरै छाड्छन् । उनी विपक्षीका लागि ठूलो समस्या हुन् ।’

गुटीले मेस्सी प्राकृतिक खेलाडी भएकाले आफूले उनलाई सबैभन्दा उत्कृष्ट मान्ने बताए । ‘मेस्सी एक प्राकृतिक उत्कृष्ट खेलाडी हुन् । उनी फुटबल खेल्नकै लागि जन्मिएका हुन् । तर, रोनाल्डो मेहनतले स्वनीर्मित हुन् ।’

तर, गुटीले करिअर र सफलताका हिसाबले भने मेस्सीभन्दा रोनाल्डो धेरै शानदार रहेको बताए । ‘यद्यपि, यसमा शंका छैन कि, मेस्सीको भन्दा रोनाल्डोको करिअर धेरै फराकिलो र पूर्ण छ । किनभने, उनले फरक–फरक लिगबाट आफूलाई साबित गरेका छन् भने मेस्सीले करिअरमा नपाएका सफलता उनीसँग छन् । रोनाल्डो एक महान् खेलाडी हुन्, जसको करिअर पूर्ण छ, उदाहरणीय छ,’ गुटीले भने, ‘रोनाल्डोले अब केही नजिते पनि फरक पर्दैन । तर, मेस्सीले अझै केही न केही जित्न बाँकी छ । त्यो उनलाई धेरै राम्रोसँग थाहा छ ।’

गुटीले फुटबलको यो युग मेस्सीको भएको र यस युगमा रोनाल्डोले पाँच बालोन डि‘ओर जित्नु आश्चार्यजनक रहेको पनि बताए । ‘मलाई यसमा अचम्म लाग्छ कि, मेस्सीको युगमा रोनाल्डोले पाँच बालोन डि‘ओर जिते,’ गुटीले अघि थपे, ‘तर, उनी एक पूर्ण र गोल मेसिन खेलाडी हुन्, यो साँचो हो ।’

गुटीले यो पनि बताएका छन् कि, रोनाल्डोले छैटौं बालोन डि‘ओर र छैटौं च्याम्पियन्स लिग जित्न सक्छन् । ‘टिमका हिसाबले हेर्दा रोनाल्डोले यसपटक छैटौंपटक च्याम्पियन्स लिग र छैटौं बालोन डि‘ओर जित्न सक्छन् । किनभने, उनी महत्त्वकांक्षी र आत्मविश्वासी खेलाडी हुन्,’ गुटीले भने, ‘मेस्सी सर्वोत्कृष्ट छन् । तर, उनले अब च्याम्पियन्स लिग जित्न कठिन छ ।’

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०९:४७
Loading...