लेस्टर सिटीलाई स्तब्ध बनाउँदै एस्टोन भिल्ला लिग कपको फाइनलमा

काठमाडौं, माघ १५
जारी सिजन प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई स्तब्ध बनाउँदै १६औं स्थानको एस्टोन भिल्ला इंग्लिस लिग कप फुटबलको फाइनल प्रवेश गरेको छ । गत राति आफ्नो घरमा भएको खेलमा भिल्लाले पाहुना टोली सिटीलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

लेस्टरको घरमा भएको पहिलो लेग १–१ मा सकिए पनि भिल्लाले आफ्नो घरमा २–१ को जित निकाल्दै एग्रीगेटमा ३–२ को नतिजा निकालेर फाइनल प्रवेश गरेको हो । भिल्लाले जित निकाल्न खेलको इन्जुरी समयमा गोल गरेको थियो ।

घरेलु टोली भिल्लाले १२औं मिनेटमै म्याट टार्गेटको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ७२औं मिनेटमा लेस्टरका लागि केलेची इहानचाओले गोल गरेर खेल १–१ बनाए । खेल बराबरीतर्फ अघि बढेका बेला भिल्लाका लागि इन्जुरी समयको तेस्रो मिनेटमा मोहमद हासनले गोल गरेपछि खेल भिल्लाले जित्यो ।

अब भिल्लाले लिग कपको फाइनलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०९:१८
Loading...