एसी मिलान कोपाको सेमिफाइनलमा : फाइनल पुग्न युभेन्टससँग भिड्ने

काटमाडौं, माघ १५
इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको अन्तिम आठमा एसी मिलानले सहज जित निकालेको छ । गत राति भएको खेलमा मिलानले टोरिनोलाई ४–२ ले हराएर सेमिफाइनलमा स्थान बनायो ।

आफ्नो घरमा भएको खेलमा मिलानले अतिरिक्त समयमा गोल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । घरेलु टोली मिलानका लागि खेलको १२औं मिनेटमा गायाकोमो बोनाभेन्टुराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ३४औं मिनेटमा टोरिनोका लागि ग्लेसन ब्रेमरले गोल गरेर खेल बराबरी बनाए ।

त्यसपछि खेलको ७१औं मिनेटमा टोरिनाको लागि ब्रेमरले नै गोल गरेर टिमलाई जिततर्फ अघि बढाएका थिए । तर, ९० मिनेटको इन्जुरी समयमा मिलानका लागि हाकानले गोल गर्दै खेल २–२ बनाएपछि खेल अतिरिक्त ३० मिनेटमा गयो ।

जहाँ मिलानले २ गोल गर्दै खेल आफ्नो पक्षमा लग्यो । खेलको १०६ मिनेटमा बराबरी गोल गरेका हाकानले नै व्यक्तिगत दोस्रो गोल गरेपछि मिलान जिततर्फ अघि बढेको थियो । त्यसपछि खेलको १०८औं मिनेटमा ज्लाटन इब्राहिमोभिचले गोल थपेपछि खेल मिलानले ४–२ ले जित्यो ।

यससँगै मिलान प्रतियोगिताको सेमिफाइनल पुगेको छ । र, उसले सेमिमा युभेन्टसँगको भेट पक्का गरेको छ । युभेन्टस अन्तिम आठमा रोमालाई हराएर सेमि पुगेको हो ।

सेमिफाइनलमा भने पहिलो र दोस्रो लेग गरी दुई खेल हुनेछन् । पहिलो लेग फेब्रुअरी १२ मा मिलानको घरमा हुनेछ भनेदोस्रो लेग मार्च ४ मा युभेन्टसको घरमा हुनेछ ।
अन्तिम आठमा आज एक अन्तम खेल हुनेछ । जहाँ इन्टर मिलान र फियोरेन्टिनाको भिडन्त राति १ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०८:५४
Loading...