मेस्सीले छाने आफ्ना लागि ‘विश्वकै उत्कृष्ट पाँच’ खेलाडी

एजेन्सी, माघ १४
समकालीन फुटबलमा उत्कृष्ट खेलाडी भन्नासथ समान्यतः दुई नाम आउँछन्– अर्जेन्टिनाका लिओनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । यी दुईमा को उत्कृष्ट भन्नेमा तर्क–मत आफ्नो ठाउँमा छ । तर, यी दुई खेलाडीले आफ्ना लागि सर्वोत्कृष्ट खेलाडी कसलाई मान्छन् होला ?

यसैक्रममा, स्पेनिस बार्सिलोनाका मेस्सीले हालै एक अन्तर्वार्तामा कुरा गर्दै आफ्ना उत्कृष्ट पाँच खेलाडी छानेका छन् । ‘मार्सा’सँग कुरा गर्दै उनले यस समय आफ्ना लागि विश्वकै उत्कृष्ट पाँच खेलाडीको नाम लिएका हुन् ।

सोक्रममा मेस्सीले हाल इटालियन युभेन्टसबाट खेलिरहेका आफ्ना खास प्रतिस्पर्धी रोनाल्डोले लामो समय ला लिगामा खेल्नुलाई विशेष भनेका छन् । ‘रोनाल्डोले ला लिगाबाट खेल्नु निकै राम्रो कुरा थियो, जसले लिगलाई उचाइमा लैजान ठूलो योगदान दिए,’ मेस्सीले भने ।

मेस्सीले आफ्ना उत्कृष्ट पाँच खेलाडीमा रोनाल्डोलाई नराख्ने बताए । उनले रोनाल्डो आफूजस्तै भएको र आफ्ना लागि उनी उत्कृष्ट पाँचभन्दा विशेष रहेको बताए । ‘म उनलाई उत्कृष्ट पाँचमा राख्दिनँ । किनभने, म उनलाई मेरै स्थानमा राख्छु । उनप्रति मेरो विशेष सम्मान र स्थान छ,’ मेस्सीले भने, ‘उनको जस्तो करिअर बनाउन करिब–करिब असम्भवजस्तै छ ।’

मेस्सीले अघि थपे, ‘रोनाल्डो र मलाई छाडेर मेरा लागि उत्कृष्ट पाँच खेलाडी एमबाप्पे, हाजार्ड, स्वारेज, अगुएरो र नेइमार हुन् ।’

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार २१:२१
Loading...