एमबाप्पे भित्र्याउन लिभरपुल रियल मड्रिडसँग भिड्ने !

एजेन्सी, माघ १४
यदि फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले क्लब छाड्ने अवस्था आए उनलाई भित्र्याउन सबैभन्दा नजिक रहेको क्लब हो– स्पेनिस रियल मड्रिड । विश्वकपविजेता एमबाप्पे स्वयंका लागि रियल ड्रिम क्लब रहेको र रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो उनका आइडल रहेकाले एमबाप्पे जान सक्ने रियल सबैभन्दा नजिकको क्लब हो ।

रियलले सके यही समर सिजन नत्र अर्को सिजनको अन्त्यसँगै २१ वर्षका खेलाडीलाई महत्त्वकांक्षी योजनासाथ भित्र्याउने तयारीमा छ । एमबाप्पेले पनि यसअघि ‘रियल मड्रिडले मलाई पर्खिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए स्पेन सरुवाको स्पष्ट संकेत दिइसकेका छन् ।

तर, इंग्लिस क्लब लिभरपुल पनि विश्वकपविजेता युवा स्टार भित्र्याउन इच्छुक देखिएको छ । प्रशिक्षक जोर्गेन क्लोप क्लबको भविष्य सुरक्षित गर्न एमबाप्पे भित्र्याउन चाहन्छन् । तर, एमबाप्पेको महँगो मूल्य सबैभन्दा ठूलो बाधक बन्ने पक्का छ । किनभने, लिभरपुल खेलाडीका लागि महँगो पैसा खर्चने क्लबमा पर्दैन । बरु, लिभरपुल सामान्य खेलाडी तयार पारेर महँगो मूल्यमा बोच्ने क्लबमा पर्छ ।

तर, फ्रान्सका फुटबलविज्ञ जुलिएन लाउरेन्सले यस्तो खुलासा गरेका छन् कि– लिभरपुल यतिबेला एमबाप्पे भित्र्याउन इच्छुक छ । उनले यो पनि बताएका छन् कि एमबाप्पे पनि करिअरमा एक दिन प्रिमियर लिग खेल्न चाहन्छन् । र, उनी स्पष्ट रूपमा लिभरपुलको राडरमा छन् ।

फ्रेन्च मिडिया रिपोर्टअनुसार लिभरपुल यो समयका सबैभन्दा द्रुत गतिका युवा गोल मेसिन खेलाडीलाई दीर्घकालका लागि भित्र्याउन ३०० मिलियन युरोसम्म खर्चन तयार हुने हो भने जे पनि हुन सक्छ । ‘यो एक सुन्दर कुरा हो, एमबाप्पे जीवनमा एक दिन प्रिमियर लिग खेल्न चाहन्छन्,’ लाउरेन्सले भनेका छन्, ‘यदि लिभरपुल सरुवा बजारमा ३०० मिलियन खर्चन तयार हुन्छ भने पिएसजी टेबलमा बस्न तयार हुनेछ । एमबाप्पे पनि तयार हुन सक्छन् ।’

लाउरेन्सले एमबाप्पे रियल मड्रिड जाने बाटो नजिक रहे पनि लिभरपुल त्यसपछिको गन्तव्य बन्न सक्ने बताए । ‘उनी रियल मड्रिड सुहाउँदा खेलाडी हुन्, यो सबैलाई थाहा छ । तर, यदि पिएसजी छाड्ने अवस्थामा उनी रियल गएनन् भने एनफिल्ड पुग्न सक्छन्,’ लाउरेन्सले भने ।

तर, एमबाप्पे करिअरमा कहिल्यै पनि बार्सिलोना नजाने लाउरेन्सले स्पष्ट पारे । ‘मलाई लाग्छ, उनी कहिल्यै पनि बार्सिलोना जानेछैनन् । किनभने, उनी रियल मड्रिड चरित्रका खेलाडी हुन् ।’

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १९:५७
Loading...