बार्सिलोनामा ९ नम्बरको खोजी : टेबलमा नयाँ नाम प्रवेश

एजेन्सी, माघ १४
स्पेनिस बार्सिलोनाले आफ्ना चोटग्रस्त उरुग्वेन फरवार्ड लुइस स्वारेजको प्रतिस्थापनका रूपमा नयाँ खेलाडी भित्र्याउन प्रयास गरिरहेको छ । यसअघि इटालियन क्लब इन्टर मिलानका लौटारो मार्टिनेज, जर्मन क्लब लेइपजिगका टिमो वार्नर र इंग्लिस क्लब आर्सनलका आउबामेयाङको नाम चर्चामा थियो ।

तर, स्पेनका ताजा रिपोर्टअनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ ला लिगाको जनवरी विन्डो बन्द हुन लाग्दा अर्को नयाँ नाममा लागेका छन् । प्रशिक्षक क्विके सेटिनसँगको साझा छलफलबाट बार्सिलोनाले लिग प्रतिस्पर्धी क्लब भ्यालेन्सियाका फरवार्ड रोड्रिगो मोरेनो भित्र्याउने सम्भावना बढेको छ ।

बार्टोमेउ स्वयंले सो कुरा स्वीकारेका छन्, कि अहिले भ्यालेन्सिया र बार्सिलोनाबीच खेलाडी किनबेचका लागि छलफल जारी छ । ‘हामी अन्य क्लबका खेलाडीबारे कुरा गर्दैनौं । तर, प्रशिक्षकको रोजाइअनुसार अहिले रोड्रिगोको नाम हाम्रो टेबलमा आइपुगेको छ,’ बार्टोमेउले भनेका छन्, ‘स्वारेजको प्रतिस्थापन आउँछ । नयाँ खेलाडी हुन सक्छन् वा हाम्रै टिम ‘बी’ का खेलाडी पनि हुन सक्छन् ।’

बार्टोमेउले भने, ‘हामीलाई मन पर्ने थुप्रै खेलाडी छन् । तर, हामीसँग सीमित दायरा छन् । हामी मन परेकै खेलाडी ल्याउन नसकौंला । तर, हाम्रो आवश्यकता पूरा गर्ने कोही न कोही आइपुग्नेछ,’ अध्यक्षले भने ।

बार्टोमेउले रोड्रिगो एक राम्रो खेलाडी भएको र प्रशिक्षकको रोजाइमा उनी रहेको बताए । ‘यो साँचो हो, सेटिनको सूचीमा उनी छन्, जे पनि हुन सक्छ,’ अध्यक्षले थपे ।

२८ वर्षका रोड्रिगो स्पेनका खेलाडी हुन् । उनले जारी सिजन भ्यालेन्सियाका लागि २३ खेल खेल्दै ४ गोल र ६ असिस्ट गरेका छन् । तर, रोड्रिगोको तथ्यांक भने निकै सामान्य मात्रै छ । गोल तथा असिस्ट गर्ने मामिलामा यसअघि चर्चामा रहेका मार्टिनेज, वार्नर वा अउबामेयाङ रोड्रिगोभन्दा निकै अघि छन् ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १७:४९
Loading...