चोटलाई टाटा बाई–बाई : यसरी शानदार लयमा फर्किंदैछन् नेइमार

काठमाडौं, माघ १४
सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट विश्वकीर्तिमानी रकममा फ्रेन्च क्लब पिएसजी पुगेका ब्राजिलियन स्टार नेइमार पिएसजीमा लगातार चोटबाट थलिए । वर्ष २०१८ र २०१९ दुवै उनका लागि चोटका वर्ष रहे । उनले निकै ठूला चोट र पीडासँग करिअरको महत्त्वपूर्ण समयको एक हिस्सा बिताए ।

सन् २०१८ को फेब्रुअरीमा लिग वानमा मार्सेइल्लीविरुद्धको खेलक्रममा घाइते भएका उनी लामो समय मैदानबाहिर रहे । र, करिब तीन महिनापछि एकैपटक रसिया विश्वकपमा फर्किए । तर, विश्वकप उनका लागि शानदार हुन सकेन ।

गत सिजन पनि उनी जनवरी महिनामै घाइते भए । त्यसपछि नेइमार चोटमुक्त भएर टोलीमा फर्किनुअघि नै पिएसजी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएर च्याम्पियन्स लिगबाट आउट भइसकेको थियो । त्यसैबेला उनले ब्राजिलको टोलीबाट कोपा अमेरिकासमेत खेल्न पाएनन् ।

सो चोटबाट नेइमार निकै ढिला गरी फर्किए । पूर्वक्लब बार्सिलोना फिर्तीको चर्चाले उनलाई केही समय टोलीबाहिर राख्यो । अन्ततः सरुवाको च्याप्टर बन्द भएपछि उनी टोलीमा फर्किए । उनी २०१९ को नोभेम्बर महिनामा लिग वानमा स्ट्रार्सबर्गविरुद्ध आफ्नो घरमा भएको खेलबाट टोलीमा फर्किए । टोलीमा फर्किए पनि नेइमार सुरुआती खेलमा आफ्नै समर्थकहरूबाट अपमानित भए ।

बार्सिलोना फर्किन चाहेका उनलाई घरेलु मैदानमा समर्थकले उनीविरुद्ध नाराबाजी गर्दै प्ले कार्ड देखाए । ‘नेइमार तिमी अन्तै जाऊ’ भन्दै लेखिएका प्ले कार्ड नेइमार खेलेका केही खेलमा फ्यानहरूले लगातार प्रदर्शन गरे । त्यसैबेला फेरि नेइमार घाइते भए ।

र, उनी ठीक भएर एकैपटक च्याम्पियन्स लिगमा रियल मड्रिडसँगको खेलअघि लिग वानमा पिएसजी र लिलेसँगको खेलबाट मैदान फर्किए । त्यसयता नेइमार लगातार टोलीमा छन् । र, उनले हरेक खेलमा आफ्नो अवस्था सुधार्दै लगिरहेका छन् । खासमा नेइमार अहिले आफ्नो ‘ओर्जिनल भर्सन’मा फर्किएका छन् ।

गत नोभेम्बरबाट चोटमुक्त हुँदै मैदान फर्किएपछि नेइमारले क्लबका लागि सबैखाले प्रतियोगिताबाट गरी ११ गोल गरेका छन् । जसमा उनले लिग वानमा मात्रै ९ गोल गरेका छन् । त्यस्तै, उनले ९ गोलमा असिस्ट पूरा गरेका छन् ।

यता, नेइमारले लिग वानमा पछिल्ला ७ खेलमा लगातार गोल पनि गरेका छन्, जुन पेरिसमा उनले लगातार सबैभन्दा बढी खेलमा गोल गरेको रेकर्ड हो । गत आइतबार राति मात्रै लिलेलाई २–० ले हराउँदा नेइमारले नै २ गोल गरे । सो जितपछि पिएसजीले लिग वानमा दोस्रो स्थानको मार्सेइल्लीसँग स्पष्ट १० अंकको अग्रता बनाएको छ ।

लिलेविरुद्ध २ गोल गरेपछि पिएसजीका प्रशिक्षक थोमस टुचेलले नेइमारको तारिफ गर्दै हालको अवस्थामा उनले १०० प्रतिशत खेलिरहेको बताएका थिए । ‘म खुसी छु, उनी अहिले ठीक छन् । र, १०० प्रतिशत खेलिरहेका छन् । यो उनी स्वयं र टिमका लागि धेरै राम्रो कुरा हो,’ उनले भनेका थिए ।

नोभेम्बरबाट मैदान फर्किएपछि कूल ११ गोल गरेका नेइमारले यो सिजन हालसम्म कूल १५ गोल गरेका छन् । उनले सोक्रममा १७ खेल खेलेका छन् । उनले ९ गोलमा अस्टिसमेत गरेका छन् । गत सिजनकै प्रतिबन्ध भोगेका नेइमारले यो सिजन च्याम्पियन्स लिगमा भने दुई खेल खेल्दै १ गोल मात्रै गरेका छन् ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०९:२१
Loading...