टोटनह्यामका एरिक्सन मेडिकल जाँच गर्न इटाली पुगे

एजेन्सी, माघ १३
इंग्लिस क्लब टोटनह्यामका स्टार खेलाडी क्रिस्टिएन एरिक्सन इटालियन सिरी ए लिग सरुवाका लागि इटाली अवतरण भएका छन् । डेनिस खेलाडी उनी इन्टर मिलान अनुबन्धको प्रक्रियामा छन् । इटालियन मिडियाका अनुसार एरिक्सन आजै इटाली उत्रिएका हुन् ।

इटालीका मिडियाले एरिक्सन विमानस्थलबाट गाडी चढेर मिलानतर्फ लाग्दै गरेको भिडियो फुटेजसहितका खबर छापेका छन् । उनको भोलि मंगलबार मेडिकल जाँच भएपछि मिलानले उनलाई अनुबन्धको घोषणा गर्नेछ ।

मिलानका कोच एन्टोनियो कोन्टेको योजनामा एरिक्सनलाई मिलानले अनुबन्ध गर्न लागेको हो । जारी सिजन च्याम्पियन्स लिगबाट आउट भइसके पनि कोन्टेले घरेलु लिग जित्ने लक्ष्यसाथ टिममा स्टार खेलाडी भित्र्याइरहेका छन् ।

यसअघि म्यानचेस्टर युनाइटेडबाटै रोमेलु लुकाकु, एलेक्सिस सान्चेज भित्र्याएका थिए भने हालै युनाइटेडकै अस्ले योङलाई मिलानले लोनमा भित्र्याइसकेको छ ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार २०:५६
Loading...