रेफ्रीलाई ‘मुख छाड्ने’ मार्टिनेजमाथि कडा कारबाही हुने

एजेन्सी, माघ १३
इटालियन क्लब इन्टर मिलानका युवा फरवार्ड लौटारो मार्टिनेजमाथि कडा कारबाही हुने भएको छ । अघिल्लो दिन सिरी ‘ए’मा आफ्नो घरेलु मैदानमा पाहुना टोली क्याग्लिअरीविरुद्ध खेल्नेक्रममा रातो कार्ड पाएका अर्जेन्टिनी फरवार्डलाई लिगले अधिकतम् कारबाही गर्ने तयारी गरेको छ ।

सो खेल दौरान मार्टिनेजले खेल खेलाउने रेफ्री जियानलुका मानाग्यानिएल्लोमाथि अभद्र व्यवहार गर्दै मुख खछाडेका थिए । खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएको विषयमा मार्टिनेजले आक्रोशित हुँदै रेफ्रीमाथि खनिएका थिए । सोक्रममा उनले केही चीजले रेफ्रीको अनुहारमा समेत हानेका थिए ।

आफूमाथि अभद्र व्यवहार भएपछि रेफ्री जियानलुकाले पहेंलो कार्डलाई यथावत राख्दै तत्कालै मार्टिनेजलाई सोझै रातो कार्ड देखाएका थिए । कार्ड खाएपछि मार्टिनेज थप आक्रोशित हुँदै रेफ्रीलाई गालीगलौज गर्दै हातपातमा उत्रिन लागेपछि उनका साथीहरूले उनलाई मैदानबाट धकेलेर निकालेका थिए । सोहीक्रममा रेफ्री, अन्य अफिसियलसँग मिलानका प्रशिक्षक कोन्टेले समेत विवाद गरेका थिए ।

खेल दौरान अभद्र व्यवहार, रेफ्रीमाथि गालीगलौज तथा हातपात प्रयास मुद्दामा अवस्था हेरी खेलाडीमाथि घरेलु प्रतियोगितामा मोटो आर्थिक जरिमानासहित तीन खेलसम्म प्रतिबन्ध लाग्न सक्छ । र, मार्टिनेजमाथि लिगले हदैसम्मको कारबाही गर्ने तयारी गरेको इटालियन मिडियाले खबर छापेका छन् । अर्थात्, मार्टिनेजमाथि मोटो आर्थिक जरिमानासहित तीन खेलको प्रतिबन्ध निश्चितप्रायः छ ।

यदि मार्टिनेज तीन खेलको प्रतिबन्धमा परे उनले उनिडेनस, एसी मिलान र लाजियोसँगका खेल गुमाउनेछन् । यदि त्यसो भए हाल लिगको दोस्रो स्थानमा रहेको मिलानलाई अबका तीन खेलमा ठूलो समस्या पर्नेछ ।

यता, मार्टिनेजले खेलको भोलिपल्टै आफूबाट गल्ती भएको भन्दै माफी मागिसकेका छन् । उनले आफ्नो व्यवहारप्रति गल्ती महसुस गर्दै मैदानमा आवेश नियन्त्रण गर्न नसकेको कुरा उल्लेख गरेका छन् । सो खेलमा मिलान आफ्नै घरमा १–१ को बराबरीमा रोकिएको थियो । मार्टिनेजले मिलानका लागि खेलको २९औं मिनेटमा गोल पनि गरेका थिए ।

सो खेलमा मिलानका दुईजना खेलाडीलाई रेफ्री जियानलुकाले एकसाथ रातो कार्ड दिएका थिए । मार्टिनेजको विषयमा रेफ्रीमाथि खनिएपछि अर्का खेलाडी टोमासो बेर्नीलाई पनि रेफ्रीले सँगै रातो कार्ड दिएका थिए ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १८:४१
Loading...