ला लिगाको शीर्ष स्थानमा उक्लिएपछि जिदानको यस्तो भनाइ

एजेन्सी, माघ १३
स्पेनिस रियल मड्रिड घरेलु लिग ला लिगाको शीर्ष स्थानमा चढेको छ । गत राति अवे मैदानमा भाल्लाडोलिडविरुद्ध ०–१ को संघर्षपूर्ण जित निकाल्दै रियल शीर्ष स्थानमा चढ्दा बार्सिलोना ३ अंकले पछि पार्दै दोस्रो स्थानमा झरेको छ । दुई दिनअघि बार्सिलोना अवे मैदानमा भ्यालेन्सियासँग २–० ले हार्दाको फाइदा रियललाई पुगेको हो ।

हालको ताजा अवस्थामा रियलले बार्सिलोनालाई समान खेलपछि ३ अंकले पछि छाडेको छ भने गोलअन्तरमा पनि पछि पारेको छ । यो ३ अंक रियललाई उपाधि होडमा अघि बढ्न निकै महत्त्वपूर्ण हुनेछ । बार्सिलोना पछिल्लो समय खराब अवस्थाबाट गुज्रिरहेकाले रियललाई ३ अंकले अरू खेलमा अग्रता बढाउन मदत गर्नेछ ।

तर, रियलका प्रशिक्षक जिनेजिन जिदानले भने लिगको शीर्ष स्थानमा उक्लिए पनि यो खासै ठूलो कुरा नभएको बताएका छन् । गत रातिको खेलपछि मिडियासँग कुरा गर्दै उनले ३ अंक उपाधिमा अघि बढ्न भरपर्दो अग्रता नहुने बताए । ‘मलाई लाग्छ, यो जितपछि पनि हाम्रो अवस्थामा ठूलो परिवर्तन हुँदैन । किनभने, ३ अंकको अग्रता ठूलो होइन,’ जिदानले भने, ‘उनीहरू (बार्सिलोना) एक खेल हार्दा हामीलाई फाइदा भयो । तर, कुनै बेला हामी पनि हार्न सक्छौं ।’

जिदानले हालको अवस्थामा लिग जित्न कम्तीमा १० अंकको अग्रता चाहिने बताए । ‘यो बेला हामीसँग १० अंक बढी थियो भने हामी करिब–करिब ढुक्क हुनेथियौं । तर, यो त्यस्तो अवस्था हो जुन जतिबेलै बिग्रन सक्छ ।’

जिदानले हालको अग्रता आफूहरूका लागि बार्सिलोनामाथि दबाब बढाउन भने महत्त्वपूर्ण हुने बताए । ‘यो ३ अंकले हामी बार्सिलोनामाथि अबका दिनमा दबाब बनाइराख्न सक्छौं । यदि हामी गल्ती नगरी अघि बढ्यौं भने,’ जिदानले भने, ‘ तर, लिगमा अझै थुप्रै अंकका खेल बाँकी छन् । हामी हौसिनुपर्ने वा बार्सिलोना निराश भइहाल्नुपर्ने अवस्था छैन ।’

जिदानले बार्सिलोना चाँडै लयमा फर्किने विश्वास व्यक्त गरे । ‘उनीहरूको बारेमा बोल्नु मेरो जागिर हैन । म मेरो टिम र मेरा खेलाडीबारे बोल्छु । तर, उनीहरू एक बलिया टिम हुन्, राम्रो अवस्थामा फर्किनेछन्,’ जिदानले भने ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १३:३६
Loading...