एथ्लेटिको मड्रिडले काभानी अनुबन्धको घोषणा गर्दै

एजेन्सी, माघ १३
स्पेनिस क्लब एथ्लेटिको मड्रिडले फ्रेन्च क्लब पिएसजीका उरुग्वेन स्टार फरवार्ड इडिसन काभानी अनुबन्धको घोषणा गर्ने तयारी गरेको छ । ‘एएस’ पत्रिकामा प्रकाशित रिपोर्टअुसार काभानीले आइतबारै मड्रिडमा मेडिकल जाँच गराएका छन् ।

तर, हालसम्म एथ्लेटिकोले यसको औपचारिक घोषणा भने गरेको छैन । काभानीको मेडिकल रिपोर्ट पास भएपछि एथ्लेटिकोले अन्य प्रक्रिया पूरा गरेर अनुबन्धको घोषणा गर्ने तयारी गरेको छ । टोलीमा गोलकर्ता फरवार्डको चरम अभाव भइरहेका बेला एथ्लेटिकोले पिएसजीका अनुभवी खेलाडी भित्र्याउने भएको हो ।

उमेरले ३२ वर्ष पुगेका काभानी पिएसजीमा थोमस टुचेलको नेतृत्वमा बेन्चमा रहँदै आएका थिए । पिएसजीले गत समरमा इटालियन क्लब इन्टर मिलानबाट माउरो इकार्डीलाई लोनमा भित्र्याएपछि काभानी बेन्चमा थन्किँदै आएका थिए ।

खेल्न नपाउने भएपछि काभानी पनि पेरिस छाड्न राजी भएका हुन् । सन् २०१३ देखि लगातार पिएसजीबाट खेलिरहेका काभानी २०१७ मा बार्सिलोनाबाट नेइमार पुग्नुअघि टोलीका प्रमुख खेलाडी थिए । उनले पिएसजीका लागि २९२ खेलबाट १९८ गोल गरेका छन् ।

यता, एथ्लेटिको मड्रिड हालै कोपा डेल रे कपको अन्तिम ३२ बाटै आउट भएपछि पनि यो सिजन ला लिगामा खराब अवस्थामा छ । उसले २१ खेलबाट मात्रै २२ गोल गरेको छ भने १४ गोल खाएको छ । काभानीको अनुबन्धपछि एथ्लेटिकोमा गोलको खडेरी कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १२:४५
Loading...