गोलकिपर टर स्टेगेनले औंल्याए बार्सिलोनाको ‘खराब’ प्रदर्शनका तीन कारण

एजेन्सी, माघ १३
दुई दिनअघि स्पेनिस क्लब बार्सिलोना ला लिगा फुटबलमा भ्यालेन्सियासँग २–० ले हारेपछि बार्सिलानाको आलोचना बढ्दो छ । सो हारसँगै बार्सिलोनाका नयाँ प्रशिक्षक क्विके सेटिनले तेस्रो खेलमै हार भोगे । यता, बार्सिलोनाको लिगको शीर्ष स्थान पनि खोसिएर दोस्रो स्थानमा झरेको छ । रियल अहिले बार्सिलोनालाई स्पष्ट ३ अंकले पछि पारेर शीर्ष स्थानमा छ ।

यसैबीच, ‘बार्सा टिभी’सँग कुरा गर्दै बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले बार्सिलोनाले लगातार खराब नतिजा भोग्नुको कारण बताएका छन् । भ्यालेन्सियासँगको खेलमा एक पेनाल्टी रोकेका उनले हाल टिममा तीन कुरा आफूले समस्याका रूपमा देखेको बताएका छन् । पहिलो, कमजोर रक्षापंक्ति । दोस्रो अवे खेलमा कमजोर मानसिकता र नयाँ प्रशिक्षक ।

‘पहिला त हाम्रो रक्षापंक्तिमा पछिल्लो समय समस्या बढ्दै गएको छ । हामी बढी गोल खाइरहेका छौं,’ टर स्टेगेनले भने, ‘मेरो विचारा हामीले अहिले भएकै टोलीबाट यसको विकल्प खोज्न सक्छौं ।’

टर स्टेगेनले अघि थपे, ‘हामी जब अवे खेलमा जान्छौं, टिमले कहीं न कहीं दबाब महसुस गर्छ । यो सबैलाई हुन्छ । तर, हामीलाई बढी नै भएको देखिन्छ । हामीले अवे खेल खेल्ने मानसिकतामा पूरै परिवर्तन ल्याउनुपर्छ ।’

टर स्टेगेनले हाल नयाँ प्रशिक्षक रहेकाले पनि खेलाडी र प्रशिक्षकको बुझाइ वा तालमेल मिल्न समय लाग्ने बताए । ‘नयाँ प्रशिक्षकसँग काम गर्न वा ठीक तरिकाले अघि बढ्न केही समय लाग्छ । अहिले हामीसँग यो पनि भइरहेको छ जस्तो लाग्छ,’ उनले थपे ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १३:३७
Loading...