सिरी ए : रोमा र लाजियो बराबरी रोकिए

काठमाडौं, माघ १३
इटालियन सिरी ए फुटबलमा रोमा र लाजियोले प्रतिस्पर्धात्मक खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । गत राति भएको लिगको २१औं खेलमा रोमा आफ्नो घरमा पाहुना टोली लाजियोसँग १–१ को बराबरीमा रोकिएको हो ।

घरेलु टोली रोमाले खेलको २६औं मिनेटमा इडेन जोकोको गोलबाट अग्रता लिएको थियो । सुरुआतबाटै आक्रामक खेल खेलेको रोमाले सो गोलपछि पनि पटक–पटक अवसर बनायो ।

तर, रोमाको अग्रता धेरैबेर टिकेन । खेलको ३४औं मिनेटमै लाजियोका लागि फ्रान्सेस्को एसर्बीले गोल गरेपछि पहिलो हाफमा १–१ मा सकियो । त्यसपछि दोस्रो हाफभरि नै दुवै टोलीबाट गोल नभएपछि खेल बराबरीमा सकियो ।

आफ्नो घरमा रोमाले लाजियोमाथि चर्को दबाब बनाएर खेल्दै कूल २२ सट हानेकोमा मात्रै ३ सट टार्गेटमा राखेको थियो ।

अब यो बराबरीसँगै रोमा ३९ अंकसहित लिगको चौथो स्थानमा छ । लाजियो ४६ अंकसहित तेस्रो स्थानमा छ भने इन्टर मिलान ४८ अंकसहित दोस्रोमा छ । गत राति नापोलीसँग पराजित युभेन्टस ५१ अंकसहित पहिलो स्थानमा छ ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०९:१५
Loading...