लिलेमाथि पिएसजीको सहज जितमा नेइमार बने हिरो

काठमाडौं, माघ १३
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित निकालेको छ । गत राति भएको लिगको २१औं खेलमा पिएसजीले अवे मैदानमा लिलेलाई ०–२ ले स्तब्ध बनायो । पिएसजीलाई जिताउन नेइमार नायक बने । २ वटै गोल उनैले गरे ।

नेइमारले खेलको २८औं मिनेटमा मार्को भेराट्टीको पासमा बक्स बाहिरबाट शानदार गोल गरेका थिए । उनले लिलेका डिफेन्डरलाई बिट गर्दै हानेको शक्तिशाली हाई प्रहारले सुन्दर ढंगले जाली चुमेको थियो ।

त्यसपछि खेलको ५२औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । बक्समा लिलेका खेलाडीले ह्यान्ड बल गरेपछि पाएको पेनाल्टीमा नेइमारले नै गोल गरेपछि खेल पिएसजीले ०–२ ले जित्यो ।

यस खेलमा गरेको गोलसँगै नेइमारले लिगका पछिल्ला ७ खेलमा लगातार गोल गरेका छन् । उनले पिएसजीमा आइकन सबैभन्दा धेरै खेलमा लगातार गोल गरेका हुन् । जारी सिजन उनले क्लबा लागि १५ गोल पूरा गरेका छन् । उनले ५ गोलमा असिस्ट पनि गरेका छन् ।

यो जितसँगै पिएसजीले लिगमा २१ खेलबाट ५२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उसले दोस्रो स्थानको मार्सेइल्लीलाई १० अंकले पछि छाडेको छ । पराजित लिले ३१ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०८:४३
Loading...