६ गोलको वर्षा गर्दै युनाइटेड एफए कपको पाँचौं चरणमा प्रवेश

काठमाडौं, माघ १२
यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फराकिलो जितसहित एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौथो चरणको खेलमा युनाइटेडले तल्लो श्रेणीको टिम ट्रानमेरेलाई उसकै घरेलु मैदानमा ०–६ को फराकिलो अन्तरले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो ।

पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको युनाइटेडले एकपक्षीय बनाएको खेलमा ६ जना खेलाडीले गोल गरे । १०औं मिनेटबाट गोल गर्न थालेको युनाइटेडले पहिलो हाफमा ५ गोल गरेको थियो ।

उसका लागि खेलको १०औं मिनेटमा ह्यारी मागुइरेले निकै शानदार गोल गरे । लामो दूरीबाट उनले हानेको शक्तिशाली प्रहारले शानदार जाली चुमेको थियो । युनाइटेडका लागि यो उनको पहिलो गोल पनि थियो ।

त्यसपछि १३औं मिनेटमा डिओगोे डालोटले दोस्रो गोल गर्दा जेसेस लिंगार्डले १६औं मिनेमा गोल गरे । त्यसपछि ४१औं मिनेटमा फिल जोनेसले गोल गरे भने ४५औं मिनेटमा एन्थोनी मार्सियालले गोल गरे ।

त्यसपछि दोस्रो हाफमा खेलको ५६औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो, जसमा मासोन ग्रीनउडले गोल गरेपछि खेल युनाइटेडले ०–६ ले जित्यो ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार २३:००
Loading...