इन्टर मिलान फेरि बराबरीमा रोकियो : मार्टिनेजलाई रातो कार्ड

काठमाडौं, माघ १२
इटालियन सिरी ए फुटबलमा यो सिजन उपाधि होडमा रहेको इन्टर मिलानलाई अर्को झट्का लागेको छ । ऊ लगातार तेस्रो खेलमा बराबरीमा रोकिएको छ । आइतबार भएको लिगको २१औं खेलमा मिलान आफ्नै घरेलु मैदानमा पाहुना टोली क्याग्लिअरीसँग १–१ को बराबरीमा रोकिन बाध्य भयो ।

मिलान खेलको इन्जुरी समयमा १० खेलाडीमा झरेको थियो । मिलानका लागि पहिलो हाफमा गोल गरेका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजलाई रेफ्रीले सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । आकासे बल हेडिङ गर्नेक्रममा विपक्षी खेलाडी क्लाभानमाथि फउल गरेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । तर, त्यसपछि मार्टिनेज रेफ्रीमाथि गालीगलौजमा उत्रिएपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए । कार्ड पाएपछि मार्टिनेज आक्रोशित भएर ट्युनेलका सामानमा किक हान्दै ड्रेसिङ रुमतर्फ गएका थिए ।

आफ्नो घरेलु मैदानमा मिलानका लागि खेलको २९औं मिनेटमा मार्टिनेजले अस्ले योङको असिस्टमा निकै सुन्दर गोल गरेका थिए । सोही अग्रता लिएर मिलान जिततर्फ अघि बढेको थियो ।

तर, खेलको ७८औं मिनेटमा पाहुना टोली क्याग्लिअरीका लागि राड्जाले लामो दूरीबाट हानेको शक्तिशाली लो प्रहारले जाली चुमेपछि खेल १–१ मा आयो । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा टुंगियो ।

यससँगै मिलानको यो लगातार तेस्रो बराबरी हो । यसअघि उसले लिकेसँग पनि १–१ को बराबरी खेलेको थियो । लगातार तीन खेल बराबरी गर्दा मिलानले ६ अंक गुमाएको छ । र, यसको सोझो फाइदा उपाधि होडमा रहेको युभेन्टसलाई पुग्ने भएको छ ।

हाल मिलान २१ खलपछि ४८ अंक बनाएर दोस्रो स्थानमा छ । यदि आजै राति युभेन्टसले आफ्नो खेलमा नापोलीलाई हराउन सके उसले मिलानलाई स्पष्ट ६ अंकले पछि छाड्नेछ । यता, मिलानलाई बराबरीमा रोकेको क्याग्लिअरी २१ खेलबाट ३१ अंक बनाएर लिगको छैटौं स्थानमा चढेको छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार २०:०७
Loading...