‘तनावपूर्ण’ खेलमा एथ्लेटिको आफ्नै घरमा लेगानेससँग रोकियो

काठमाडौं, माघ १२
दुई दिनअघि मात्रै कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै तेस्रो डिभिजनको टोलीसँग पराजित हुँदै प्रतियोगिताबाट आउट भएको एथ्लेटिको मड्रिड ला लिगामा आफ्नै घरमा निराशाजनक बराबरीमा रोकिएको छ । आइतबार भएको लिगको २१औं खेलमा पाहुना टोली लेगानेसले तनावपूर्ण खेलमा एथ्लेटिकोलाई ०–० को बराबरीमा रोकिदिएको हो ।

खेलको इन्जुरी समयमा लेगानेसका गोलकिपर इभान कुलरलाई रेफ्रीले दोहोरों पहेंलो कार्डका साथ रातो कार्ड दिएपछि लेगानेसका खेलाडी रेफ्रीसँग विवादमा उत्रिएका थिए । सोहीक्रममा दुई पक्षमा खेलाडीबीच हात हालाहाल र भनाभनको स्थिति सिर्जना भएको थियो । केही समय खेल रोकिएको थियो ।

खेलको सुरुआतबाटै घरेलु टोलीविरुद्ध आक्रमण गरेको लेगानेसले खेलभरि एथ्लेटिकोलाई लगातार दबाबमा राख्यो । तुलनात्मक रूपमा बल एथ्लेटिकोले बढी आफ्नो पक्षमा राखे पनि घरमा गोल निकाल्न नसक्दा एथ्लेटिकोले अंक बाँड्न बाध्य भयो ।

अब यो बराबरीसँगै एथ्लेटिकोले अंक तालिकामा अवस्था सुधार गर्ने अवसरसमेत गुमाएको छ । उसले २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानमा छ । यो खेल जितेको भए एथ्लेटिको तेस्रो स्थानमा चढ्ने थियो । यता, लेगानेसले २१ खेलबाट १५ अंक जोडेर १९औं स्थानमा छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १९:०१
Loading...