रोनाल्डोलाई आज सिरी ‘ए’ मा इतिहास रच्ने मौका : चल्ला त जादु ?

काठमाडौं, माघ १२
इटालियन सिरी ए फुटबल प्रतियोगितामा आज राति लिग लिडर युभेन्टसले आफ्नो २१औं खेल लिगकै एक बलियो टिम नापोलीसँग अवे मैदानमा राति १ः३० बजेबाट खेल्दैछ । सो खेल खेल्दा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भने एक नयाँ रेकर्ड बनाउने अवसर छ ।

युभेन्टसमा दोस्रो सिजन बिताइरहेका ३४ वर्षीय रोनाल्डोले आज राति नापोलीको घरमा कम्तीमा १ गोल गर्न सके उनी सिरी ए इतिहासमै लगातार ८ खेलम्म गोल गर्ने खेलाडी बन्नेछन् । आजसम्म कुनै पनि खेलाडीले लिगका ८ खेलमा लगातार गोल गर्न सकेका छैनन् ।

हालसम्म सर्वाधिक धेरै खेलमा लगातार गोल गर्ने रेकर्ड युभेन्टसकै लिजेन्ड खेलाडी माइकले प्लाटिनी र रोवेर्टो बेटेगाको नाममा ७ खेलको रेकर्ड छ, जुन रोनाल्डोले यसअघि नै पार्माविरुद्ध गोल गर्दै बराबरी गरिसकेका छन् ।

तर, ७ भन्दा बढी खेलमा लगातार गोल आजसम्म कसैले पनि गरेको छैन । यदि आज राति नापोलीविरुद्ध गोल गरे रोनाल्डो लिग इतिहासमै ८ खेलसम्म लगातार गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

त्यसो त रोनाल्डोका लागि लगातार ८ खेलमा गोलको रेकर्ड नै ठूलो कुरा भने होइन । तर, सिरी ए लिगमा भने हो । रोनाल्डोले यसअघि रियल मड्रिडमा छँदा युरोपियन च्याम्पियन्स लिगमै लगतार ११ खेलसम्म गोल गरेर दुर्लभ रेकर्ड मात्रै बनाएका छैनन्, ला लिगामा १३ खेलसम्म लगातार गोल गरेर शानदार रेकर्डसमेत बनाएका छन् ।

जबकि, रोनाल्डोका खास प्रतिस्पर्धी बार्सिलोनाका लिओनल मेस्सीले १६ वर्षदेखि ला लिगामै खेलिरहँदा पनि आजसम्म सबैभन्दा बढी ११ खेलसम्म मात्रै लगातार गोल गरेको रेकर्ड छ ।

पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका रोनाल्डोका लागि आजको खेल रेकर्ड बनाउन मात्रै नभएर लिगमा गोल संख्या बढाउन पनि महत्त्वपूर्ण हुनेछ । उनले युभेन्टसका लागि पछिल्ला १० खेलबाट १३ गोल गरिसकेका छन् । उनले वर्ष २०२० मा मात्रै ४ खेलबाट ७ गोल हानिसकेका छन् ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १५:२८
Loading...