भ्यालेन्सियासँग हारेपछि बार्सिलोना टिम ‘क्रुद्ध’ : मेस्सी बोलेनन्, प्रशिक्षकले के–के भने ?

एजेन्सी, माघ १२
स्पेनिस ला लिगा फुटबलमा गत राति लिग लिडर बार्सिलोना अवे खेलमा भ्यालेन्सियासँग २–० ले स्तब्ध बन्यो । भ्यालेन्सियाको एक पेनाल्टी मिस हुनु र एक गोल रद्द हुँदा बार्सिलोना सभावित ४–० को सर्वनाक हारबाट खुम्चिएर २–० को हारमा समेटियो । आफ्नो घरमा बार्सिलोनालाई स्तब्ध बनाउन खेलको १०औं मिनेटमा पेनाल्टी गुमाउने म्याक्सी गोमेज नायक बने ।

उनले ४८औं मिनेटमा आत्मघती गोलमा शक्तिशाली प्रहार गरे भने ७७औं मिनेटमा निकै सुन्दर गोल गरेर बार्सिलोनालाई नमिठो हारको सिकार बनाए । भ्यालेन्सियाको घरमा बार्सिलोनाले सबैखाले प्रयास गरे पनि सकेन । उसले ७४ प्रतिशत बल आफ्नो पक्षमा राख्यो भने कूल १४ सट हान्यो । जसमा ५ सट मात्रै अन टार्गेट रहे ।

कप्तान मेस्सीले मात्रै कूल १० सट हानेका थिए । तर, उनको कुनै पनि सटले भ्यालेन्सियाको पोस्ट देख्न पाएन । उनका चार फ्रि किकमा यसपटक कुनै जादु चलेन । मेस्सी नचल्नु र अन्य कुनै पनि फरवार्ड नचल्दा बार्सिलोनाले नमिठो हार मात्रै भोगेन, लिगको शीर्ष स्थान पनि गुमाउने अवस्था छ । यदि आज राति रियल मड्रिडले आफ्नो खेल जिते बार्सिलोना ३ अंकले पछि परेर दोस्रो स्थानमा झर्नेछ ।

खेलपछि मेस्सी बोलेनन्, प्रशिक्षक रिसाए !

भ्यालेन्सियासँग हारपछि बार्सिलोनाका कप्तान मेस्सीले मिडियासँग प्रतिक्रिया दिन मानेनन् । उनी खेलपछि पत्रकारको प्रश्नको बेवास्ता गर्दै हिँडेका थिए । उनी निकै हतास र तनावमा देखिन्थे ।

तर, प्रशिक्षकका हैसियतमा बार्सिलोनाका क्विके सेटिनले ‘बार्सा टिभी’सँग अफिसियल धारणा दिए । सोक्रममा उनले बार्सिलोनाले पहिलो हाफमा साँच्चै खराब फुटबल खेलेको बताए । ‘यो हार हाम्रो कल्पनाभन्दा बाहिरको हो, हामी हारे पनि यति खराब अवस्थामा हार्नुपर्ने थिएन । सायद मेरो योजना र खेलाडीबीच अझै थुप्रै वेमेल छन्,’ सेटिनले भने, ‘पहिलो हाफमा हामी एक खराब नमूनाको खेल खेल्यौं । भ्यालेन्सियाले पहिलो हाफमा ४ गोलसम्म गर्न सक्थ्यो । तर, टर स्टेगेनले केही सम्भावित गोल बचाए ।’

सेटिनले आफ्ना खेलाडीको प्रदर्शनको स्तर एकाएक खस्किएको भन्दै चिन्ता व्यक्त गरे । ‘मेरा खेलाडी के सोचिरहेका छन् वा डे«ेसिङ रुममा के समस्या छ, मलाई थाहा छैन । यो निकै गम्भीर कुरा हो कि, हामी किन यति खराब अवस्थामा आइपुग्यौं,’ सेटिनले भने, ‘१०० प्रतिशत, म खुसी छैन । हामी यो स्तरको खेलेर केही पनि जित्दैनौं । लिगमै हामी धेरै खराब अवस्थामा पुग्न सक्छौं ।’

सेटिनले भ्यालेन्सियाविरुद्ध कप्तान मेस्सी र टर स्टेगेनले सकेको काम गरेको बताए । ‘टर स्टेगेन, जसले सम्भावित ३ वा ४ गोल बचाए । उनले पेनाल्टी रोकेर खेल हाम्रो पक्षमा राखेका थिए । तर, दोस्रो हाफमा उनीहरूले एकएक खेल आफ्नो पक्षमा पारे, हाम्रो रक्षापंक्ति करिब–करिब ध्वस्त देखियो,’ सेटिनले भने, ‘मेस्सीले सबैखाले कोसिस गरे । दर्जनौं प्रहारमा गोल नहुनु उनको दुर्भाग्य थियो । मेस्सीले गोल नगर्दा अन्य खेलाडीले आफूलाई साबित गर्नुपर्छ, आज यो भएन ।’

सेटिनले अबका दिनमा झनै कठिन बन्ने आफूले देखेको बताए । ‘यो खेलपछि सायद हामी लिगको शीर्ष स्थान गुमाउने मात्रै छैनौं, उपाधि होडमा रियल मड्रिडलाई अघि जाने मौका दिँदैछौं । अहिले उनीहरूले जसरी खेलिरहेका छन्, यदि भोलि ३ अंक जोडे उनीहरूले हामीलाई दबाब बढाउँदै लानेछन्, यो हाम्रा लागि धेरै कठिन हुनेछ ।’

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १४:३९
Loading...