आज भाल्लाडोलिडलाई हराएर लिग लिडर बन्ने रियल मड्रिडको दाउ

काठमाडौं, माघ १२
स्पेनिस ला लिगामा फुटबलमा आज एकै दिन कूल पाँच खेल हुँदैछन् । आज हुने खेलमध्ये सबैभन्दा आकर्षणको खेल भाल्लाडोलिड र रियल मड्रिडको हुनेछ । रियल आज अवे मैदानमा हुने यो खेल जितेर लिग लिडर बन्ने दाउमा छ । गत राति बार्सिलोना आफ्नो खेलमा भ्यालेन्सियासँग पराजित भएकाले रियललाई आज आफ्नो खेल जितेर शीर्ष स्थानमा चढ्ने मौका छ ।

हाल अंक तालिकामा बार्सिलोना २१ खेलपछि ४३ अंक बनाएर शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल मड्रिडको पनि समान ४३ अंक नै छ । आज रियलले भाल्लाडोलिडलाई हराए वा बराबरी मात्रै गरे पनि बार्सिलोनालई पछि पारेर शीर्ष स्थनमा चढ्नेछ ।

लिगको उपाधि होडमा अगाडि बढ्न रियलका लागि आजको खेल ज्यादै महत्त्वपूर्ण छ । स्पष्ट जित भए उसले बार्सिलोनालाई ३ अंकले पछि पारेर लिगमा पकड जमाउनेछ, जुन रियलका लागि उपाधि जित्न महत्त्वपूर्ण नतिजा हुनेछ ।

आजको खेलमा रियल सबैजसो प्रमुख खेलाडी लिएर मैदान उत्रिनेछ । कप्तान सर्जियो रामोस चोटमुक्त हुँदै मैदान फर्किएका छन् भने अन्य प्रमुख खेलाडी सबै ठीकठाक छन् ।

आज लिगमा हुन खेल नेपाली समयमा

एथ्लेटिको मड्रिड भर्सेस लेगानेस – अपराह्न ४ः४५ बजे

सेल्टा भिगो भर्सेस एइबार – साँझ ६ः४५ बजे

गेटाफे भर्सेस रियल बेटिस – राति ८ः४५ बजे

रियल सोसिडाड भर्सेस मालोर्सा – राति ११ः१५ बजे

भाल्लाडोलिड भर्सेस रियल मड्रिड – राति १ः४५ बजे

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ११:३५
Loading...